• १४ असोज २०८१, सोमबार

जलनको उपचार नि:शुल्क बनाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तयारी

blog

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजनाको घोषणा गर्दै ।

काठमाडौँ, असोज १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलनको उपचार नि:शुल्क बनाउने तयारी गरेको छ ।

मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाउनुभएको थियो । 

मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार नि:शुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ ।

मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार नि:शुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ । हाल कीर्तिपुर अस्पतालबाट उपचार भइरहेकामा गत भाद्रमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो ।

जसअनुसार कोशी प्रदेशमा बिपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगन्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीज्यूको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्नुभयो, ‘मन्त्रालयको आफ्नै श्रोतबाटै सातै प्रदेशमा नि:शुल्क उपचार सुविधा दिनेगरी तयारी अघि बढिरहेको छ ।’