• १४ असोज २०८१, सोमबार

बोटानिकल म्याथम्याटिकल पार्क निर्माण

blog

अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा बोटानिकल म्याथम्याटिकल पार्क । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अर्जुन काफ्ले

स्याङ्जा, असोज १४ गते । अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा बोटानिकल म्याथम्याटिकल पार्क निर्माण अगाडि बढाइएको छ । धेरै पालिकाले टावर बनाएर करोडौँ खर्च गरिरहँदा अर्जुन चौपारीले भने बोटानिकल म्याथम्याटिकल पार्क निर्माण अगाडि बढाएको हो । 

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको ७० प्रतिशत र अर्जुनचौपारी गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पार्क निर्माण गरिएको हो । बहुवर्षीय योजना हो पहिलो चरणको काम सकिएको छ भने जिल्लामा पहिलो पटक यस्तो पार्क निर्माण गरिएको हो । 

पालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले पहिलो वर्ष भौतिक संरचनाका कामहरुमा जोड दिइएको बताउनुभयो । पहिलो वर्ष गजेबो (हावा घर) दुई वटा, गड्यौली संरचना निर्माण, एक्सरसाइज पार्क, सुरक्षा उपकरण सीसीटीभी, बत्ती जडान र तारबार गरिएको छ । पहिलो चरणमा ढिलो काम थालनी हुदाँ सोचिएको मध्ये आधा काम भएको बताउँदै तिवारीले ५५ लाख मात्र खर्च भएको बताउनुभयो । 

प्रदेश सरकारबाट दोस्रो चरणमा समेत ७५ लाख विनियोजन गरेको छ भने पालिकाले ३० प्रतिशत थपेर काम गर्ने तिवारीले बताउनुभयो । दोस्रो चरणमा गड्यौली खोलामा स्थानीय जातका माछाहरु हाल्ने, विभिन्न प्रजातिका बोट बिरुवाहरु रोप्ने, गड्यौली खोला छेउमा फुटपाथ, गार्डेन ब्रिज, पार्कमा दुबो लगाउने काम गरिनेछ । 

तेस्रो चरणमा अर्जुनचौपारी गाउँपालिकालाई पर्यटकीय गन्तब्यका रुपमा गड्यौली र पन्चकन्याला  पर्यटकीय प्याकेजका रुपमा चिनाउने काम गरिने छ । पार्क पालिकाभित्रका विद्यार्थीलाई अध्ययन गर्ने एक पाठशालाको विकास गर्ने उद्देश्य रहेको बताउँदै तिवारीले पार्क जिल्लाकै नमुना हुने बताउनुभयो । पालिकामा नयाँ के छ भनेर खोजी गर्दा देखाउने गरी इन्जिनियरसँग परामर्श गरेर पार्क निर्माण अगाडि बढाएको तिवारीले बताउनुभयो । यो पार्क निर्माण सकिएसँगै देशभरका धेरै पालिका, पर्यटक र विद्यार्थी अध्ययन अवलोकन गर्न पाठशाला हुने अनुमान पालिकाको छ । 

पार्क पालिकाको प्रशासकीय भवन नजिकै रहेको गड्यौली खोला र यसको वरपर एक सय रोपनी जग्गामा फैलिनेछ ।