• १४ असोज २०८१, सोमबार

साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन

blog

निशा राई 

धरान, असोज १४ गते । साकेला सांस्कृतिक पार्क धरानमा साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । धरान–१७ साकेला पार्कमा कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राई र विशेष अतिथि पुर्व नगर प्रमुख तिलक राईले उद्धघाटन गर्नुभएको हो । 

विश्वव्यापी टेक्नोेलोजीको वृहत विकासले हाम्रो संस्कृतिहरु लोप हुने चुनौती रहेकोले हाम्रो भाषा लिपिलाई कसरी जोगाउने भन्ने प्रश्न हामी सबैमा रहेको नगर प्रमुख राईले बताउनुभयो । आफ्नो भेषभुषा, भाषा संस्कृतिको जगेर्ना हामी आफैले नै गर्नुपर्ने जिम्मेवारी रहेकोले धरान–१६ मा विभिन्न भाषा संस्कृतिहरुको संरक्षण गर्न गोलो सिसाको घर निर्माण भइरहेको समेत उहाँले जानकारी दिनुभयो । त्यसभित्र सबै जाति, भाषा, संस्कृतिहरुको कक्षा सञ्चालन हुने र त्यसको लागी धरान उपमहानगरले गर्ने उहाँले बताउनुभयो । 

आज हामीले जुन संस्कार, संस्कृतिका जगेर्ना गरिरहेको छौैं, त्यो सबै अग्रजहरुको महत्वपुर्ण योगदान रहेको पुर्व नगर प्रमुख राईले बताउनुभयो । अहिलेको साकेला सांस्कृति पार्क रहेको जग्गा तत्कालिन धरानका नगर प्रमुख स्व.ध्यानबहादुर राईको पहलमा ३० वर्ष पहिले प्राप्त भएको र उहाँको योगदानको सधँै कदर गर्नु पर्ने बताउनुभयो । हाम्रो संस्थाको विकास र संस्कृतिको वृहत रुपमा अगाडि बढाउन किराँती साथै गैरकिरातीहरुको पनि महत्वपुर्ण योगदान रहेको र सबैको साथ सहयोग लिनु पर्ने धारण राईले व्यक्त गर्नुभयो । 

यस पुस्तकालयको निर्माण किँरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको परिकल्पना र पहलमा कार्यसमिती, नगर कार्यसमिती र विभिन्न वडा कर्यसमितीको श्रमदानबाट निर्माण हो । कार्यक्रममा दाताहरुले किरात संस्कृती झल्काउने दुई तले भवन किरात राई यायोक्खा सुनसरीलाई हस्तान्तर गरेको छ । 

यस भवन निर्माण गर्न स्वर्गीय नगर प्रमुख राईको स्मृतिमा उहाँको पत्नि लक्ष्मीसोभा राईले ७ लाख रकम र अन्य दाताहरुको आर्थिक सहयोगमा जम्मा १५ लाख बढीको लागतमा निर्माण भएको अध्यक्ष राईले बताउनुभयो । दाताहरुबाट हस्तान्तरणसँगै पुस्ताकलय र अध्ययन केन्द्र सर्वसाधरणहरुको लागी समेत खुल्ला गरिएको उहाँले बताउनुभयो । यहाँ निशुल्क पुस्तक अध्ययन, ईलाईबेरी, फ्री वाईफाई र चिया कफिको पनि व्यवस्था रहेको अध्यक्ष राईले बताउनुभएको छ । 

पुस्तकालय भवन बनेको ठाउँमा २०५५ सालमा बनेको जीर्ण घर थियो । उक्त घरलाई नै जोगाएर पुस्तकालय माथिल्लो तला थप्ने योजना भएपनि इञ्जिनियरले परीक्षण गर्दा रड मक्किएको पाइएपछि नयाँ भवन नै निर्माण गर्नुपरेको अध्यक्ष राईले बताउनुभयो । भवन नयाँ बनेपनि पुरानो घरको दाताहरुको इतिहास नमेट्ने र शिलालेख राख्ने उहाँले बताउनुभयो । 

उक्त भवनको भुँईतलामा किरात संस्कृतिमा आधारित तीन चुला, भार, अगेना, किरातकालिन हातहतियार, भाडाकुडा सहितको सामाग्रीहरुको अध्ययन गर्न सकिने छ भने पहिलो तलामा विशेष किरात सभ्यता, संस्कृतिका पुस्तक र अन्य पुस्तकहरु अध्ययन र कम्प्युटरबाट पनि अध्ययन गर्ने रहेको छ ।

दाताहरुलाई प्रमाण पत्र र दोसला ओढाएर सम्मान गरिएको थियो । विभिन्न व्यक्तिहरुले सकेला पुस्ताकलयको लागि पुस्तक समेत उपलब्ध गराएको थियो । कार्यक्रममा संविधान सभा सदस्य किरण कुमार राई, किराया उपाध्यक्ष दोर्पधोज राई लगाएतको केन्द्र, प्रदेश कार्यसमितीका प्रतिनिधीहरुको उपस्थिती थियो ।