• १४ असोज २०८१, सोमबार

अधुरा योजना पूरा गर्दै प्रदेश सरकार

blog

बाँकेको खजुरा –४ डीगाउँमा पालिकास्तरीय रङ्गशालाको स्थलगत अनुगमनपछि स्थानीय बासिन्दासँग प्रदेशसभा सदस्य रत्न खत्री । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज १४ गते । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाँकेमा अलपत्र रहेको रङ्गशाला तथा कभर्डहललाई पूर्णता दिने भएको छ । बाँकेको खजुरा गाउँपालिका –४ डीगाउँमा प्रदेश सरकारले करिब एक करोड रुपियाँ खर्च गरेको पालिका स्तरीय रङ्गशालामा तीन वर्षदेखि बजेट नपरेकोमा यसवर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । 

रङ्गशालाको अधुरो प्याराफिटको काम सम्पन्न गर्न सामाजिक विकास मन्त्रालय २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख उद्धव श्रेष्ठले रङ्गशालामा विनियोजन भएको बजेटबाट काम सुरु गर्न नापजाँच भई लागत स्टिमेट तयार भइसकेको जानकारी दिनुभयो । 

प्रमुख श्रेष्ठले भन्नुभयो, ‘दशैं अगावै ठेक्का निकाल्ने तयारी गरिरहेका छौं ।’ यसैगरी  नेपालगञ्जमा सम्पन्न भएको राष्ट्रिय खेलकुदको समयमा निर्माण भ अधुरो रहेको खजुरा –२ पुल्चोकस्थित ब्याडमिन्टन कभर्ड हाललाई पूर्णता दिन प्रदेश सरकारले चालु आवमा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सो कभर्ड हलका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । 

निवर्तमान सामाजिक विकासमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले अधुरा योजनालाई सम्पन्न गर्ने गरी बजेट निर्माण गरेको बताउँदै यसको  सदुपयोगका लागि स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताउनुभयो । 

डीगाउँस्थित पालिकास्तरीय रङ्गशालाको अवस्थाबारे जानकारी लिँदै प्रदेशसभा सदस्य खत्रीले समयभित्र गुणस्तरीय काम गर्न गराउन स्थानीय बासिन्दालाई सचेत भएर लाग्न अनुरोध गर्नुभयो ।