• १४ असोज २०८१, सोमबार

यातायात ठप्प, यात्रु अलपत्र

blog

मधेश प्रदेश ब्युरो

जनकपुर, असोज १४ गते । पछिल्लो पटकको अविरल वर्षा रोकिएपछि जनजीवन आफ्नो लयमा फर्किने प्रयासमा रहे पनि पूर्ण रूपमा सहज बनेको छैन ।

गौर समाचारदाताका अनुसार तीन दिनदेखि परिहेको अविरल वर्षाका कारण रौतहटको बागमती, झाँझ, लालबकैया नदीमा आएको बाढीले आइतबार सदरमुकाम गौर डुबानमा परेको छ ।

सदरमुकाम गौरका अधिकांश सडक जलमग्न भई डुबानमा परेको तथा कतिपय घरमा पानी पसेको छ । बिपी चोकको सडकछेउका घरबाहेकका सबै क्षेत्र बाढीको पानीले डुबानमा परेका छन् । मुख्य बजारबाहेक गौर आँखा अस्पताल, सिसवा, सिर्सिया, सपगढालगायतका वडामा शनिबार राति १२ बजेदेखि बाढी पसेको थियो भने गौर बजारमा बिहान बाढीको पानी प्रवेश गरेपछि अहिले बजार डुबानमा परेको नगरप्रमुख शम्भु साहले बताउनुभयो ।

सदरमुकाम गौरलाई जोड्ने अधिकांश सडक बाढीले डुबानमा परेको छ । यसैबिच शनिबार बागमती, लालबकैया तथा झाँझखोलामा आएको बाढीले राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, माधवनारायण, गढीमाई नगरपालिकाको विभिन्न ठाउँमा बाढीले कैयौँ घर डुबानमा परेका थिए भने कतिपय परिवार विस्थापित भएका छन् ।

जिल्लामा बाढीले एक जनाको मृृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ७९ जनाको उद्धार गरिएको तथा अनुमानित लगभग ५६ लाखको जनधन क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो ।

कोशीको भँगालोमा घेरिएकाको उद्धार 

सप्तरी समाचारदाताका अनुसार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३, गोबरगाढा टापुका २५० जना कोशीको भँगालोमा घेरिएकालाई उद्धार गरिएको छ । तीन दिनदेखि निरन्तर अविरल वर्षासँगै कोशी नदीमा पानीको सतह उच्च भएपछि गोबरगढा टापुका बासिन्दा कोशीको भँगालोले घेरिएका थिए । 

कोशीको बाढीबाट प्रभावित बासिन्दालाई आइतबार नगरपालिकाले मेसिनबाट चल्ने एउटा बोट (डुङ्गा) पठाएर उद्धार गरिएको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई डुङ्गामा राखेर उद्धारको कार्य भइरहेको बताउनुभयो । उहाँले बाढीबाट सयौँ बिघा धान तथा तरकारी खेतीमा क्षति भए पनि मानवीय क्षति भने नभएको जानकारी दिनुभयो । गत सोमबार बिहानदेखि कोशीको बाढी बस्तीमा पसेको थियो । 

सप्तकोशीको बहाव घट्दो

सप्तकोशी नदीमा पानीको बहाव घट्दो अवस्थामा छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार बिहान ११ बजे कोशी नदीमा पानीको बहाव पाँच लाख ८२ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । शनिबार साँझ ७ बजेदेखि कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो । ब्यारेजको एकदेखि १९ नम्बरसम्मका ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको थियो । 

नदीमा पानीको बहाव अत्यधिक भएपछि शनिबार बिहानबाटै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका थिए भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार अहिले कोशीमा पानीको बहाव कम हुने क्रममा रहेकाले अवस्था सामान्य हुँदै गएको छ ।

बर्दीबास समाचारदाताका अनुसार आइतबार बिहानैदेखि यहाँको मौसममा सुधार आएपछि जनजीवन लयमा फर्कने प्रयासमा छ । तथापि तीन दिन लामो अविरल वर्षाको प्रभाव भने तत्कालै साम्य हुने सम्भावना देखिएको छैन । 

अविरल वर्षाको सबैभन्दा ठुलो प्रभाव यातायात क्षेत्रमा देखिएको छ । वर्षा र बाढीपहिरोले मुलुकभरका सडकमा क्षति गरेकाले यसको असर देशव्यापी रूपमा देखा परेको हो । सडक क्षतिले आवागमन ठप्प हँुदा उपचार, व्यापार व्यवसाय, शिक्षा, सुरक्षाजस्ता क्षेत्र प्रभावित भएका छन् । तीन दिन लामो झरी बादल चिर्दै आइतबारदेखि झलमल्ल घाम लागे पनि एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था छैन । यात्रु अलपत्र छन् । 

आइतबारको सुनौलो घामसँगै बिपी राजमार्गको प्रस्थानविन्दु बर्दीबासस्थित टिकट काउन्टरमा सयौँ यात्रु निराश देखिन्थे । उनीहरू काठमाडौँलगायत पहाडी जिल्ला जान तँछाडमछाड गर्दै बर्दीबास पुगेका थिए तर सबै रुटमा सवारी चल्न नसक्ने खबर पाएपछि उनीहरू निराश बने । 

बाटो खराब भएको जानकारी नपाउँदा बर्दीबासका टिकट काउन्टरमा सबैभन्दा बढी भारतीय यात्रुको चाप देखिएको छ । यसैमध्ये काठमाडौँ जान भनी आइतबार बिहान बर्दीबासस्थित सुनौलो बिपी यातायात कम्पनी प्रालिको टिकट काउन्टरमा पुगेका भारत विहार मोतीहारीका सुमित गिरी र शशिकुमार जयसवाल सबै बाटो बन्द भएको थाहा पाएपछि चिन्तामा पर्नुभयो । बनेपाको एक प्लाइउड कम्पनीमा काम गर्दै आउनुभएका दुवै जना केही दिनको छुट्टीमा मोतीहारीस्थित घर जानुभएको थियो । गिरीले दुःख प्रकट गर्नुभयो, “मोतीहारीमा यताको सबै बाटो बिगारेको थाहा भएन । फर्केर जाऊँ पनि भएन, अगाडि जाने बाटो पनि रहेन । अन्योल र चिन्तामा परेका छौँ ।” लगत्तै सोही काउन्टरमा पुग्नुभएका बर्दीबास–१ का कमल भण्डारीले खुर्कोट खाल्डेबाट वर्षाअघि आउनुभएका दुई जना पाहुनालाई घर फर्कने व्यवस्था के हुन सक्छ ? भनी प्रश्न राख्नुभयो । 

टिकट बुकर गोपाल तामाङले बिहानदेखि काठमाडौँलगायत उत्तरी जिल्ला जानका लागि सयौँ यात्रु काउन्टरमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी आउनेमा सबैभन्दा बढी भारतीय यात्रु छन् । वर्षाले बाटो बिगारेको छ । खुल्ने टुङ्गो छैन भनेपछि अँध्यारो अनुहार पारेर जान्छन् ।”

तामाङका अनुसार सुनौलो बिपी कम्पनी मातहतका १९ बस दुई सुमो र २० वटा विद्युतीय सवारी (इभी) ले काठमाडौँ, चरीकोट, अम्बोटे, कटारीलगायतका ठाउँमा यात्रु सेवा दिँदै आएका छन् । बाटो बन्द भएदेखि बर्दीबास, सिन्धुलीबाहेक सबै रुटमा आवागमन ठप्प भएको उक्त कम्पनीका यातायात संयोजक चन्द्रबहादुर कार्कीले बताउनुभयो । 

बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयका अनुसार बर्दीबासबाट बिपी राजमार्ग भएर आवागमन गर्न कम्पनी प्रणालीमा आबद्ध भई बाटो इजाजतपत्र लिई ४० वटा यातायत प्रालिले यात्रुवाहक सवारी सञ्चालन गरेका छन् ।  कार्यालय प्रमुख राजकिशोर यादवले बर्दीबास यातायातबाट इजाजत लिएका २० वटा यात्रुवाहक बस, १६० वटा साना सवारी टाटासुमो, विङ्गर र विद्युतीय गाडी (इभी) सञ्चालनमा छन् । 

यी सवारीले बर्दीबासदेखि काठमाडौँलगायतका पहाडी जिल्लामा यात्रु सेवा दिँदै आएका छन् । यी सवारीबाट दैनिक दुई हजार यात्रु बर्दीबासबाट जाने र उत्तिकै सङ्ख्यामा पहाडी जिल्लाबाट आउने गरेको यातायात व्यवसायीले जनाएका छन् । 

बर्दीबासबाट काठमाडौँ जाने बिपी, नारायणघाट–मुग्लिङ, पृथ्वी राजमार्गलगायतका सबै सडक अवरुद्ध रहेकाले यात्रुका साथै यातायात व्यवसायी पनि अलपत्र अवस्थामा छन् । काठमाडौँबाट शुव्रmबार नौ जना यात्रु लिएर बर्दीबास आइपुगेका इमोन यातायातका चालक विव्रmम केसीले आफू अलपत्र अवस्थामा पुगेको बताउनुभयो । बाटो बन्द भएपछि भक्तपुरको सूर्यविनायक घर भएका केसीको घर परिवार चिन्तामा परेको उहाँले बताउनुभयो । 

बर्दीबासस्थित जिल्ला ट्राफिक प्रहरीका प्रमुख लक्ष्मीराज जोशीले शनिबारदेखि पहाडी जिल्लालगायत बर्दीबास भएर चल्ने सबै जसो यातायात ठप्प भएको जनाउनुभयो ।

तटीय क्षेत्र अझै डुबानमा 

सर्लाही समाचारदाताका अनुसार सर्लाहीमा बागमती नदीको तल्लो तटीय क्षेत्रका बस्ती अझै डुबानमा छन् । तीन दिनदेखिको झरी रोकिएको २४ घण्टा बितिसक्दासमेत जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका र बसबरिया गाउँपालिकाका एक दर्जन बढी बस्ती अझै डुबानमै रहेका हुन् । डुबान रहेका बस्तीमा कम्मरसम्म पानी जमेको छ । 

डुबानमा परेर घरभित्र राखिएको अन्नसहित अन्य सरसामग्री नष्ट भएको स्थानीयले बताएका छन् । डुबानले धान, तरकारीलगायतका बालीनालीमा व्यापक क्षति गरेको किसानको भनाइ छ । भर्खरै पसाएको धानबाली डुबानमा पर्दा किसान चिन्तित भएका छन् । वर्षाले ठाउँ ठाउँमै कच्ची घर ढलेका छन् । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बलरा नगरपालिकाको लगभग सबै जसो वडा र रामनगर गाउँपालिका–२ मा डुबानको समस्या अत्यधिक देखिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित आइतबार बिहानैदेखि बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएका प्रजिअ अधिकारीले डुबानले गर्दा पिउने पानी नै नभएका ठाउँमा तत्कालका लागि पानी र खाने अन्न नभएकालाई चिउरा, चाउचाउलगायत खाद्यान्नको जोहो गरिएको जानकारी दिनुभयो । 

अझै डुबानमै रहेका क्षेत्रमा उद्धार तथा विभिन्न स्थानमा तटबन्ध कस्नका लागि स्थानीय तहसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । प्रभावित क्षेत्रको निरीक्षणमा रहेका सुरक्षा अधिकारीले कल्पना गरिएभन्दा धेरै घर डुबानमा परेको पाइएको बताएका छन् । 

बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बागमती नदीमा पानीको सतह घटे पनि शनिबारकै बाढीले जताततै डुबानको समस्या आएको बताउनुभयो । जताततै बाँसका टाटीले बनेका कच्ची घर भत्किएका, अन्नपात नष्ट भएकाजस्ता समस्या रहेको र क्षतिबारे विवरण सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख कुशावाहाले बताउनुभएको छ । 

रामनगर गाउँपालिकाका अध्यक्ष राजबाबु यादवले चाडपर्वको मुखमा डुबानका कारण नदी तटीय बस्तीमा ठुलो समस्या उत्पन्न गरेको गुनासो गर्नुभयो । बाढी र डुबानले बागमती नदी तटीय क्षेत्रमा पर्ने बलरा, रामनगर, धनकौल, बरहथवा, बसबरियालगायत पालिकामा ठाउँ ठाउँमा सडक भत्काएको छ । भित्री पक्की तथा कच्ची सडक भत्काउँदा आउजाउमै समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।