• १४ असोज २०८१, सोमबार

ऊर्जा निर्यात प्रभावित

ऊर्जा र सिँचाइमा चार अर्ब पैँतिस करोडको क्षति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । लगातार भएको वर्षका कारण आएको बाढी पहिरोले देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिब चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ऊर्जातर्फ तीन अर्ब र सिँचाइतर्फ एक अर्ब ३५ करोडको क्षतिको विवरण प्राप्त भएको र विवरण अझै सङ्कलन भइरहेका सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । 

मन्त्री खड्काले कुल ६२५ मेगावाट जडित क्षमताका ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा क्षति भएको जानकारी दिनुभयो । त्यस्तै आपत्कालीन अवस्थाका कारण आयोजना बन्द गर्नुपर्दा करिब ११ सय मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन एक हजार १० मेगावाट १५ वटा विद्युत् आयोजनामा पनि क्षति पुगेको उहाँको भनाइ छ ।  

प्रसारण लाइनतर्फ काबेली कोरीडोर अन्तर्गतको दमक गोदक १३२ केभी, खिम्ती लामो साँघु १३२ केभी र सोलु कोरीडोर प्रसारण लाइनमा क्षति पुगेको उल्लेख छ ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार इलामको माई नदीमा आएको बाढीले काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनका चार वटा टावरमा क्षति पुर्‍याएको छ । 

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । उक्त लाइनबाट दैनिक रूपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । 

काबेली कोरीडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान ७५० मिटर रहेको छ । 

सिँचाइमा असर

नदी नियन्त्रणका लागि बनाइएका विभिन्न बाँध तथा स्परहरू भत्केका छन् । मन्त्रालयका अनुसार पूर्वी नेपालका मेची, कोशी, खाँडो, रातो, कमला, लालबकैयालगायतका नदी नियन्त्रणका पूर्वाधारहरू बगेका छन् । त्यस्तै नारायणी, मस्र्याङ्दी, तिनाउ, पश्चिम राप्ती र कर्णाली नदीमा पनि क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजना, बागमती सिँचाइ आयोजना, कोशी पम्प चन्द्र नहर, कमला सिँचाइ व्यवस्थापन आयोजना, महाकाली सिँचाइ आयोजनाका बाँध तथा नहरमा क्षति पुगेका छन् । निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सनको कफर ड्याम बगेको छ ।

विद्युत् निर्यात प्रभावित

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भएको क्षतिले नेपालको विद्युत् निर्यात प्रभावित भएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब तीन सय मेगावाट मात्र निर्यात भइरहेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले तामाकोशी जलविद्युत् आयोजना तत्काल पुनः स्थापना गर्न नसके नेपालको निर्यात व्यापारमा ठुलो क्षति हुने बताउनुभयो । बिग्रका प्रसारणलाइन निर्माणका लागि काठमाडौँबाट विज्ञ प्राविधिक पठाउन खोजेको तर हवाई टिकट नै पाउन नसकिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी प्रभावित आयोजना पुनर्निर्माणमा सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो ।