• १० मंसिर २०८१, सोमबार

आमूल परिवर्तनको खाँचो

blog

यथास्थितिभन्दा फरक स्थिति हुनुलाई परिवर्तन मानिन्छ । यस्ता फरक स्थिति कहिले समयले आफैँ ल्याउँछ, कहिले आवश्यकताले सिर्जना हुन्छ । कहिले भने नचाहेर नै अन्य पक्षबाट सिर्जना हुन्छन् । परिवर्तन व्यक्तिगत जीवनदेखि परिवार, समाज, सङ्गठन, राष्ट्र सबैमा हुने गर्छ । परिवर्तन भइरहेको तथा चलिरहेको वा अभ्यस्त स्थितिबाट फरक स्थितिमा रूपान्तरण हुने प्रक्रिया रहेकाले सामान्यतया सहज रूपमा स्वीकार गर्ने गरेको पाइँदैन । परिवर्तनको कोर्ष पूरा गर्न समय र लागत लाग्न सक्छ । परिवर्तनसँग अवसर र चुनौती पनि सँगसँगै आउने गर्छ । चुनौतीदेखि डराउने वर्ग परिवर्तन सहजै स्वीकार्न सक्दैन । परिवर्तनलाई सूक्ष्म तथा बृहत् रूपमा विश्लेषण गर्नु पर्छ । परिवर्तनको प्रवृत्तिअनुसार सूक्ष्म र बृहत भनी छुट्याउन सकिन्छ । एउटा व्यक्तिको व्यवहार र आनीबानीमा हुने परिवर्तन र देशको व्यवस्थामा हुने परिवर्तन, एउटा सङ्गठनको प्रणालीमा हुने परिवर्तन, एउटा परिवारको संस्कारमा हुने परिवर्तन यी सबै फरक फरक प्रकृतिका हुने गर्छन् । 

परिवर्तन जुनसुकै विषयको किन नहोस् त्यसलाई समय र लागतको न्यूनीकरण गर्दै उपलब्धि सकारात्मक हासिल गर्ने प्रयासमा लाग्नु पर्छ । परिवर्तनलाई बृहत् रूपमा विश्लेषण गर्दा देशमा व्यवस्था परिवर्तनका लागि विभिन्न समय विसं २००७, ०१७, ०३६, ०४६, २०६३ मा ठुला ठुला आन्दोलन भए । २०५२ सालदेखि २०६३ सालसम्म मानवीय क्षतिसँगै देशमा भौतिक संरचनाको क्षति भयो । देशमा राजसंस्थाको अन्त्य भयो । देश सङ्घीयतासहितको गणतन्त्रात्मक प्रणालीमा रूपान्तरित भयो । देशमा व्यवस्था परिवर्तन त भयो तर अवस्था परिवर्तन हुन सकेन । परिवर्तनले मानिस गाउँबाट सहर सरे र सहरबाट विदेश, खेतबारी बाँझिए, मानिसमा काम गर्ने तथा परिश्रम गर्ने बानीमा परिवर्तन आयो । घरजग्गाको मूल्य अकासियो, महँगी चुलियो, रोजगारीका अवसर कम हुँदै गए, शैक्षिक बेरोजगारी बढ्दै गए फलतः मानिस बाध्य भएर जीविकोपार्जन गर्न बिदेसिन थाले । आजका दिनमा दैनिक २२०० देखि २५०० व्यक्ति देश छोडेर पढाइ तथा कामका लागि बिदेसिएका छन् ।

अहिलेको परिस्थिति हेर्ने हो भने हरेक क्षेत्रमा परिवर्तन भएको छ तर त्यो परिवर्तनले सकारात्मक प्रभाव पार्न सकेन । परिवर्तनले अवसर चुनौती दुवै लिएर आउँछ । हाम्रो अवस्थालाई हेर्ने हो भने परिवर्तनले चुनौती मात्र दिई आइरहेको र त्यसको सामना गर्न नसक्दा समग्र राज्यव्यवस्थामा त्यसको प्रभाव परिरहेको आभास हुन्छ ।

देशमा प्रजातन्त्र आएको ३४ वर्ष पूरा भइसकेको छ तर देशको अवस्था भने दिनप्रतिदिन खस्कँदो अवस्थातिर गइरहेको छ । देशमा अस्थिर राजनीति, त्योसँगै सरकार परिवर्तन, नेतत्वमा पद तथाकुर्सी मोह, देशको स्वार्थ भन्दा आफ्ना व्यक्तिगत स्वार्थमा लिप्त, राम्रोलाई भन्दा हाम्रालाई प्राथमिकतामा राख्ने प्रवृत्ति बढ्दो छ । आफू पदमा रहँदा सबै चिज राम्रो हुने आफू हट्नेवित्तिकै अरूले गरेको त्यही विषय नराम्रो भन्ने भाष्य त संस्कार नै भइसक्यो । अरूले के गर्नु पर्छ थाहा पाउने र आफूले के गर्ने भन्ने जानकारी नहुने बानीले आज देशको अवस्था दिनदिनै खस्कँदो छ । देशमा फूलदेखि फलफूल, तरकारी, खाद्यान्न, लत्ताकपडा, विद्युतीय समान, विदेशी व्यापारको करिब ९१ प्रतिशत आयात हुने र नौ प्रतिशतको हाराहारीमा निर्यात भनिए पनि निर्यातको केही भाग आयातित सामान प्रशोधन गरी निर्यात हुन्छ । खुला सिमाना भएका कारण हाम्रो वास्तविक आयातको आँकडा यति नै हो भनेर भन्न सक्ने अवस्था छैन ।

यही क्रमले हिजोको निरन्तरताका लागि मात्र काम गर्ने हो भने हाम्रो अवस्था सबल हुन गाह्रो छ । यसर्थ पनि आमूल परिवर्तनको खाँचो भइसकेको छ । जुन देशलाई समृद्धिको बाटोमा लगेर सुखी नेपालीको परिकल्पना साकार पार्ने हो भने आजदेखि यी सबै क्षेत्रमा आमूल परिवर्तन हुन जरुरी छ ।

पार्टीका नेता र कार्यकर्तामा परिवर्तन 

आजसम्म राजनीतिलाई जुन तरिकाबाट अनुसरण गर्दै आइयो त्यसले अगाडिको यात्रा तय गर्न सकस छ । नेता बोलिरहने, कार्यकर्ता त्यसको समर्थन गरिरहने वा जे बोले पनि ताली बजाइरहने प्रवृत्ति अन्त्य हुनु पर्छ । नेतालाई सही बाटोमा हिँडाउने जिम्मेवारी कार्यकर्ताको पनि हो । कार्यकर्तामा अध्ययन, त्याग, धैर्यता हुनु स्वाभाविक हो तर अन्धभक्त हुने भने होइन । नेतालाई उचित सल्लाह र सुझाव दिन सक्नु पर्छ । नेतृत्वले पनि सुझाव ग्रहण गरी सुधारको बाटो अवलम्बन गर्नु पर्छ । अर्को राजनीतिमा अवकाश भन्ने शब्द प्रयोग भएको छैन । अवकाशको प्रयोग हुन नसक्दा यहाँ अवसरको कमी देखियो जसको कारण युवा पुस्ता राजनीतिमा सक्रिय रूपमा आउन सकेको देखिँदैन । एक निश्चित समयपछि जिम्मेवारी हस्तान्तरण गर्ने हरेक पार्टीमा हुनु पर्छ । यस्तो प्रचालन नहुँदा समाज सुदृढ हुन सकेन, यसमा आमूल परिवर्तन जरुरी छ ।

पेसा र व्यवसायप्रति इमानदारी

हरेक पेसामा आबद्ध पेसाकर्मी, व्यवसायी सबैले इमानदारी, नैतिकता र कर्तव्यबोधको पालना गर्न सक्नु पर्छ । पेसाकर्मीले पेसामा रहँदा गर्नुपर्ने के हो र गरी रहेछु के भन्ने आत्मसात् गरी काम गर्नु पर्छ । व्यवसायीले व्यवसायमा रहँदा गर्न हुने र नहुने विषयको पहिचान गरी काम गर्नु पथ्र्यो । आज न पेसाकर्मीले आफ्नो जिम्मेवारी पूरा गरेको छ न त व्यवसायीले इमानदारिताको धर्म नै निभाउन सकेको छ । जसले गर्दा पेसा र व्यवसायको धर्म नै धर्मराएको छ । यस्ता प्रवृत्ति अन्त्य गरी असल बाटोमा लाग्न सक्नु पर्छ । पेसाकर्मीले पेसालाई र व्यवसायीले आफ्नो व्यवसायप्रति कर्तव्यनिष्ठताको बाटोमा लाग्न जरुरी छ ।

सरकारको कार्यशैलीमा आमूल परिवर्तन 

राज्यव्यवस्था कस्तो बनाउने र कहाँ पुर्‍याउने भन्ने सरकारको कार्यशैलीमा निर्भर रहन्छ । राज्यव्यवस्थालाई साधन मान्ने हो भने त्यसलाई हाक्ने ड्राइभरका रूपमा सरकारलाई मान्न सकिन्छ । सरकारले कार्य गर्ने काम कारबाही उदाहरणीय बन्न सक्नु पर्छ ताकि जनताले अनुसरण गर्न सकुन् । काम यति चुस्त दुरुस्त बनुन् जहाँ कसैले नकारात्मक टिप्पणी गर्न नसकोस् । सरकार अभिभावकको भूमिकामा रहोस्, जनताको दुःखमा साथ दिने हुन सकोस् । जनतालाई यो अुनुभूति होस् मेरो पछाडि सरकार छ । आजसम्म सरकारबाट जे जस्ता क्रियाकलाप भए/गरिए अब सरकारको नेतृत्व गर्ने पदाधिकारीको कार्यशैलीमा परिवर्तन हुन जरुरी छ । 

शैक्षिक प्रणालीमा रूपान्तरण 

हाम्रो शैक्षिक प्रणाली निकै पुरानो र काम नलाग्ने अवस्थामा पुगिसकेको छ । शैक्षिक बेरोजगार उत्पादन गर्ने शैक्षिक प्रणाली भयो भने देशले गति लिन सक्दैन राज्यले देश समृद्व बनाउन त्यहाँको शैक्षिक प्रणालीलाई सबल बनाउन सक्नु पर्छ । शैक्षिक प्रणाली व्यावहारिक हुनु पर्छ, जसको अध्ययनले उत्पादित जनशक्ति व्यावहारिक बन्छ । व्यक्तिले आर्जन गर्ने शिक्षा केवल प्रमाणपत्र लिनका लागि मात्र नभएर उसको व्यावहारिक जीवनमा उपयोगी हुनु पर्छ । अनि मात्र समाज र देशलाई सहयोग पुग्न सक्छ । देशको शिक्षा प्रणालीलाई सुदृढ बनाउन ठुलो लगानी गरी व्यावहारिक शिक्षा प्रणालीको विकास गर्नु पर्छ तसर्थ पुरानो शिक्षा प्रणालीको परिवर्तन आजको आवश्यकता हो ।

व्यक्तिमा समाज र राज्यप्रतिको दायित्वबोध 

मानिसभित्र मैले समाजका लागि गर्नुपर्ने दायित्व छ भन्ने ज्ञान भर्न सक्नु पर्छ । समाजमा जन्मे/हुर्केर समाजकै स्रोतसाधन उपयोग गरी सबल र योग्य मानिस बनिसकेपछि कहाँ फाइदा र अवसर लिन सकिन्छ भन्ने सोच हुनु पर्छ । आफू कमजोरी गरी समाजलाई दोष लगाउँदै भाग्ने छुट कसैलाई पनि छैन । त्यो लक्काजवान बनाउन देश र समाजले केही गरेन र ? यही समाजको साधनस्रोत उपयोग गरेको हो भने त्यसको शोधभर्ना गर्नु दायित्व होइन र ? त्यही समाजले विदेशका लागि योग्य बनायो भने देशका लागि केही बनाएन होला र ? यस्ता विविध प्रश्नको उत्तर दिन सक्ने ज्ञान भर्न शिक्षा प्रणालीमा सुधार गर्दै आफ्नो देशमा नै केही गर्न सकिन्छ, गर्नु पर्छ भन्ने बोध गराउन सक्नु पर्छ ।

वित्तीय साक्षरताको उच्चतम प्रयोग

अहिलेको समयमा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको नाफाको निश्चित प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्नुपर्ने प्रावधान राखिदिएको छ । सो रकमको केही अशिक्षाका माध्यमबाट मानिसमा वित्तीयसँगै व्यावसायिक ज्ञान र आफ्नो कर्तव्यबोधको शिक्षा दिन सक्यो भने पनि मानिसमा सकारात्मक सोचको विकास हुने गर्छ । यसतर्फ सरोकारवाला पक्षले ध्यान पुर्‍याउनु पर्छ । अन्त्यमा देशको आर्थिक विकासबिना समृद्धिको कल्पना गर्न सकिँदैन । अर्थिक विकासका लागि कुनै पक्ष, क्षेत्र, विषय, स्थानको विकासभन्दा पनि समुचित विकासको माध्यमबाट मात्रै राज्यका सबै क्षेत्रको सुधार सम्भव हुन्छ । जसका लागि परिआएमा राज्यको मूलधारमा रहने नेतृत्वले मार्ग प्रशस्तसमेत गर्न सक्नु पर्छ । 

Author

दुर्गा कँडेल छत्कुली