• १० मंसिर २०८१, सोमबार

गाउँ फर्किने चाहना

blog

साहित्यको सबैभन्दा उर्वर विधा हो कविता । विश्वमा सबैभन्दा बढी लेखिने विधा हो कविता तर त्यही कविता भने लेख्न त्यति सजिलो छैन । किनकि यो विधामा लेख्दा गहनता र साधनाको पनि त्यति नै आवश्यक पर्छ । किनकि कविता शब्दहरूको थुप्रो होइन, यो भावनालाई झङक्रित गर्ने लयात्मक पुञ्ज हो । यो विम्ब–प्रतीक विन्यास हुने शब्द संयोजन हो । त्यसैले भनिन्छ, कवितालाई आकार दिन साधनाको खाँचो पर्छ । 

यहाँ कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कवितासङ्ग्र्रह पढ्दा उपर्युक्त कथनलाई साक्ष्य राख्दै के भन्न सकिन्छ भने कविले यस कृतिमार्फत आफ्नो साधनालाई काव्यिक आकार दिनुभएको छ । सरकारी जागिरे हुँदै अहिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रहेका थपलियाको प्रस्तुत कवितासङ्ग्र्रह आद्योपान्त अध्ययन गर्दा उहाँ प्रशासनिक क्षेत्रमा जति सफल देखिनुभएको छ, त्यति नै सबल र सक्षम काव्य क्षेत्रमा पनि देखिनुहुन्छ । वास्तवमा सिर्जनाको कसी भन्नु नै समयचेत र समकालीन परिवेशको बोध हो । यसरी हेर्दा कवि थपलियाको यस कवितासङ्ग्रहभित्रका कविताहरूले समकालीन समय र प्रवृत्तिप्रतिको प्रसङ्गलाई प्रतिविम्बित गरेको देखिन्छ । 

अझै पनि 

हर्केले स्कुल जान पाएको छैन

बिर्खेले पेटभरि खान पाएको छैन

जेठो दाइ पोत पाउन हतारिएकै छ

कान्छो भाइ ओत नपाएर भौँतारिएकै छ

फूलमायाहरू गलैँचामा गरिबी बुनिरहेकै छन्

दिलमायाहरू कोठीभित्र अस्मिता बेचिरहेकै छन्...

भनिन्छ, साहित्य समाजको ऐना हो । गाउँले परिवेशमा जन्मिएर सहरी जटिलतासँग जुध्नका लागि गरिएका कैयौँ ऐँठन कविताका माध्यमबाट प्रकटीकरण हुने गर्छन् । कवि थपलियाका यस कवितासङ्ग्रहमा रहेका ३३ वटा कविताले विभिन्न काव्यिक भावपुञ्जलाई प्रस्तुत गरेका छन् । यसका साथै सामाजिक यथार्थलाई पनि आजको समयचेतबाट देशकाल परिस्थिति अनुसार चित्रण गरेका छन् । यी कवितामा कवि आफूले देखेभोगेको अवस्था, घटना र विभिन्न चरित्रलाई काव्यिक भावद्वारा प्रकटीकरण गरिएको  छ । आफूवरिपरिका परिस्थिति र प्रवृत्तिहरूप्रति विद्रोह र आवाजविहीनहरूको प्रतीकात्मक आवाज पनि प्रतिध्वनित भएको छ । भविष्यको खोजीमा सहर पसेपछि यस भुलभुलैयाबाट मानिसलाई बाहिर निस्कन हम्मे हम्मे पर्छ । किनकि सहरले उसको जवानी खाइदिन्छ या भनौँ जिन्दगी भुलभुलैयामा हराउँछ । यद्यपि मानिसको अन्तरात्मामा त्यही आफू जन्मेहुर्केको पृष्ठभूमि अभ्यन्तरमा आइरहेको जन्मभूमिप्रतिको सुषुप्त लगाव र कर्तव्यबोधले मानिस एउटा यस्तो विन्दुमा पुग्छ कि उसलाई आफ्नै ठाउँ फर्कूं फर्कूं लाग्छ तर कतिपय बन्धनबाट उसलाई उन्मुक्ति हुँदैन । यस्तो कुण्ठा, सकस र कर्तव्यबोधले यसरी कविलाई बोध गराउँछ कि ऊ रचनामार्फत गाउँ फर्किन पुग्छ । 

यो कविताले सङ्ग्रहको प्रतिनिधित्व गरेको मात्र छैन, यो कविको आफ्नो धरातलप्रतिको अगाध प्रेम र त्यसप्रतिको कर्तव्यबोधको आलाप पनि हो । यो आलाप कविको बलियो अभिव्यक्ति पनि हो; जसमा आफ्नो माटो, प्राकृतिक सुन्दर छटाले ओतप्रोत भएको गाउँमा आफूलाई उभ्याएको छ ‘म गाउँ फर्किन्छु’ भित्र । जसरी युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो गाउँको सुन्दरता, गाउँघरको माटोको सुगन्ध र त्यहाँको प्रकृतिको भव्यतालाई विम्ब दिँदै ‘मेरो प्यारो ओखलढुङ्गा’ लेख्नुभयो; त्यसरी नै कवि थपलियाले पनि यहाँ प्रेरित भएर ‘मेरो प्यारो सङ्खुवासभा’ कविता लेख्नुभएको छ । यसबाट के देखिन्छ भने कविलाई आफ्नो गाउँ, आफू जन्मेहुर्केको त्यो ठाउँको अगाध माया छ । त्यो गाउँठाउँको पहिचान विश्वभरि कसरी गराउन सकिन्छ भन्ने हुटहुटी छ । विकासले पछाडि परेपछि प्राकृतिक सुन्दरता पनि उजागर हुँदो रहेनछ । 

पर्खालले छेक्दैनन् चाहनालाई, यातनाले रोक्दैनन् अठोटलाई, बन्धनले बाँध्दैन विचारलाई, कसैले विचलित पार्दैन सङ्कल्पलाई र हत्केलाले छेक्दैन घामलाई (उन्मुक्तिको खोजी) । यसरी मानिसमा देखिएको अशान्ति, भय र वैमनष्यले सिर्जना गरेको सामाजिक, राजनीतिक, सांस्कृतिक सङ्कटहरू कवितासङ्ग्रहमा छरपस्ट पोखिएका छन् । समसामयिक राजनीतिक परिदृश्यमा घटित घटनाहरूले मर्माहत भएर कवितामा यसरी मुखरित हुन्छन् कवि– वर्तमानसँग, बन्द कोठाभित्र, हामी आइरहेछौँ, दोबाटोमा उभिएर, हतियार बोकेको मान्छे, क्यालेन्डर, बुढो घर, अँध्यारो रातको अवसान आदि । उहाँका हरेक कविता उज्यालोतर्फको मार्गमा उन्मुख देखिन्छ । कवितासङ्ग्रहमा मानवीय संवेदनालाई बडो मार्मिकताका साथ प्रस्तुत गरिएको छ । 

‘ओभरसियर’ कवितामा एक प्राविधिक मानिसको सकसको अवस्थालाई बडो सूक्ष्म रूपमा उतारिएको छ :  

घर बनाउँछ, डेरामा बस्छ

पुल बनाउँछ, तुइनमा तर्छ

सडक बनाउँछ, पैदल हिँड्छ

बिजुली बनाउँछ, टुकीको उज्यालोमा रमाउँछ

धारा बनाउँछ, कुवाको पानीले निर्वाह गर्छ

बसेर थाक्नेहरू धेरै छन्

ऊ थाकेर मात्र बस्छ ।

यसरी कवि थपलिया कतिपय कवितामा विद्रोहको चेत बोल्न पुग्नुहुन्छ । उहाँका कवितामा रुमानी भाव छ, प्रेम छ, हार्दिकता छ, लालित्य र माधुर्यका साथसाथै वेदना छ । त्यस्ता कविताहरू मायाको परिभाषा, साथ छुटेपछि, जब तिमीलाई देखेँ, नवयौवनासँग आत्मालाप, तिम्रो प्रतिज्ञामा, सुहागरात आदिलाई लिन सकिन्छ । यी कवितामा प्रेमिल भावनाहरू ओतप्रोत भएर पोखिएका छन् । प्रेमका बाछिटाहरू छ्यापेर कविमन आह्लादित भएको छ भने कतै कतै वियोगमा छटपटिएको पनि छ । यसरी प्रेम, मिलन र बिछोडको दिव्य त्रिवेणीको सुन्दर हस्ताक्षर कवितामा निर्दिष्ट भएको छ । कवि थपलियाका धेरै जसो कविताले देश बोलेका छन् । देशभित्रका संस्कृति, सम्पदा, प्रकृतिको सुन्दरता, माटोको सुगन्ध, गाउँघरको मौलिकता, मौलिकताभित्रको आत्मीयता छन् । सङ्ग्र्रहका प्रायः कविता गाउँकै पृष्ठभूमिमा निर्माण भएका छन् । कविका हृदयमा आजको राजनीतिक प्रवृत्ति र सामाजिक मूल्यमान्यतामा आएको ह्रासले गाउँ दुखेको छ । सहरले बन्जर हृदय भएको मानिस बनाएको छ । त्यसैले उहाँ गाउँ फर्किन चाहनुहुन्छ । आफ्नै गाउँको माटोमा जीवन बिताउन चाहनुहुन्छ । 

कविताको माध्यमबाट अभिव्यक्त भएको यो एउटा प्रतीक हो । गाउँघरको मिठासलाई हृदयमा बोकेका कवि कलात्मक शैलीमा त्यहाँको यथार्थ चित्रण गर्न सफल हुनुभएको छ र गाउँको मौलिकतालाई केन्द्रमा राखेर लेखिएका कविताहरू युगबोधात्मक छन् । अन्त्यमा यहाँ के स्मरण रहोस् भने कविले कविता लेख्दा निश्चय पनि आफ्नो निजात्मक अनुभवबाट रचना गर्छन् । अनि कविता प्रस्तुत गर्ने शैली कविहरूका आआफ्नै हुन्छन् । कविता जति सरलतामा भन्नु उचित भए पनि त्यसलाई अभिधामूलक बनाउँदा कहिलेकाहीँ अति सरलताको सिकारमा पर्न जान्छ र कविता कविता नरहेर अति सरल प्रकारको तुके भाव रचना जस्तो देखिन्छ । यसबाट चाहिँ बच्नुपर्ने हुन्छ । यस हिसाबले यस सङ्ग्रहका केही कविता त्यस्तै खाले अति सरलताको मार्गमा हिँडेका देखिन्छन् । कवि थपलियाको ‘म गाउँ फर्किन्छुु’ कवितासङ्ग्र्रहलाई समष्टिमा भन्नुपर्दा यो काव्य सिर्जनाको पठनीय कृति हो । यसरी लालित्यपूर्ण र प्रखर शैलीमा अभिव्यक्ति दिन सक्ने सामथ्र्य भएका कविले आगामी दिनमा समेत नेपाली साहित्यलाई अझै गहन खुराक दिएर नेपाली साहित्य आकाशलाई फराकिलो बनाउनुहुने छ भन्ने अपेक्षा गर्न सकिन्छ ।