• २७ असोज २०८१, आइतबार

‘सुन्दर, समुन्नत र समृद्ध पालिका बनाउँछौँ’

blog

सप्तरीको १८ स्थानीय तहमध्ये एक तिलाठी कोइलाडी गाउँपालिकामा राजविराज–कुनौली सडकको साथै अन्य सडकको पनि सुविधा छ । गाउँपालिकाको उत्तरमा महादेवा गाउँपालिका, राजविराज नगरपालिका, पश्चिममा छिन्नमस्ता, विष्णुपुर गाउँपालिका, दक्षिणमा भारतीय सीमा, पूर्वमा हनुमाननगर कङ्कालिनी नगरपालिका छन् । साबिकका सात गाविस मिलाएर २०७३ सालमा गठन भएको यस गाउँपालिकामा हाल आठ वटा वडा छन् । यहाँका अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छन् । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका अरुणकुमार मण्डल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष मण्डलले गर्दै आउनुभएको काम र आगामी योजनाबारे गोरखापत्र दैनिकका सप्तरी समाचारदाता देवरामप्रसाद यादवले गर्नुभएको कुराकानी :

तपाईं निर्वाचित भएको अढाई वर्षको अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

 तिलाठी कोइलाडी गाउँपालिकालाई “आर्थिक, सामाजिक, कृषि र पूर्वाधार : सुशासन र व्यवहार परिवर्तन विकासको मूल आधार” भन्ने मूल नारा अनुरूप सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका बनाउन व्रिmयाशील छौँ । विगत अढाई वर्ष निकै महìवपूर्ण रह्यो । अहिले नयाँ आर्थिक वर्षको सुरुमा छौँ । योजना सम्पन्न गरी भुक्तानीको काम सकिएका छन् । विगतमा भएका गरेका कामको समीक्षा गर्दै नयाँ काम थाल्न छलफल तथा परामर्शमा जुटिरहेका छौँ । यहाँको भौतिक पूर्वाधारमा आमूल परिवर्तन गर्नेतर्फ लागेका छौँ । स्वच्छ खानेपानीका साथै सरसफाइलाई पनि प्राथमिकतामा राखेका छौँ । गाउँवासीमा परेको समस्याको समाधान, प्राकृतिक प्रकोप नियन्त्रण, राहत, उद्धार, सार्वजनिक जग्गाको अतिव्रmमण रोक्ने काम भएको छ । 

आगामी आर्थिक वर्षका लागि नयाँ योजना के के छन् ? 

विगतकै जस्ता कार्यव्रmम छन् । यो क्षेत्र कृषिमा केन्द्रित भएकाले सिँचाइलाई बढी प्राथमिकता दिएका छौँ । यहाँ सिँचाइको सम्भावना पनि छ तर पूर्वाधार अत्यन्तै कमजोर भएकाले आवश्यकता अनुसार सिँचाइ हुन सकिरहेको छैन । हामी त्यसमा सुधार गर्न खोजिरहेका छौँ । त्यस्तै प्रदेश र सङ्घसँगको साझेदारीमा सडकलाई बढी जोड दिएका छाँै । 

सङ्घ र प्रदेश सरकारसँगको समन्वय कस्तो छ ?

व्यक्तिगत हिसाबले सङ्घ, प्रदेश दुवैतिर राम्रो समन्वय छ तर संस्थागत रूपमा हेर्ने हो भने नीतिगत समस्या अलि बढी छ । तीन तहका सरकार बने तर सङ्घीयताअघिको नीति र कार्यव्रmम जस्तो थियो, अहिले पनि त्यस्तै छ । त्यसमा सुधार भएको छैन । हिजोका दिनमा स्थानीय तहलाई जे जस्तो व्यवहार र हेराइबाट काम चलिरहेको थियो आज पनि उस्तै शैली र ढङ्गले काम गर्न खोजिरहेको छ । सङ्घीयता कार्यान्वयन केन्द्रबाटै नभएको देखिन्छ । वित्तीय सङ्घीयताका कुरामा सङ्घ असफल नै भएको जस्तो देखिन्छ । सङ्घको जस्तै प्रदेश पनि सोही ढर्रामा चलिरहेको छ । प्रदेश आफैँ सङ्घले अधिकार दिएन भनेर आरोप लगाउने गर्छ । प्रदेश सरकारको काम भनेको स्थानीय सरकारलाई मजबुत बनाउने हो । स्थानीय र सङ्घीय सरकारबिचको सम्बन्ध दर्बिलो बनाउन समन्वयको काम प्रदेशले गर्नुपर्ने हो तर प्रदेश सरकार त्यसमा पनि चुकिरहेको छ । स्थानीय तहचाहिँ स्थानीय सरकारभन्दा पनि पहिलेकै संरचनाको गाउँ विकास समिति हुँदाको जस्तो कार्यव्रmम कार्यान्वयन गर्ने अखडा मात्र भएको छ । हाम्रो ४४ करोड रुपियाँको बजेट बन्दा सङ्घ र प्रदेशबाट ४३ करोड रुपियाँ बजेट आउँछ तर त्यसमध्ये कार्यालय खर्चबाहेक १८ करोड रुपियाँभन्दा बढीको योजना ससर्तको योजनामा आउँछ । 

तपार्इंको पालिका भारतीय सीमामा पनि पर्छ । यहाँबाट हुने लागुऔषधको ओसारपसारलगायतका अवैध धन्दा नियन्त्रणका लागि के कसरी काम गर्दै हुुनुहुन्छ ?

लागुऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रणका लागि अभिभावक सचेत र जिम्मेवार बन्नु पर्छ । आफ्ना छोराछोरीको ख्याल गर्नु पर्छ । हाम्रा तर्फबाट लागुऔषधको प्रयोग तथा दुव्र्यसनीका लागि सचेतना जगाउने काम गरिरहेका छौँ । हामीले विभिन्न गैरसरकारी निकायसँग समन्वय गरी जनचेतना जगाउने काम गरिरहेका छौँ । खुल्ला सीमा नाका भएकाले आफ्ना बालबच्चाका व्रिmयाकलाप र गतिविधिमाथि ध्यान दिन सबैसँग अनुरोध गर्दै आएका छौँ ।

कस्ता चुनौतीको सामना गर्नु परेको छ ? 

यहाँ काम गर्दा पार्टीगत रूपमा खुट्टा तान्ने प्रवृत्ति धेरै छ । पूर्वाधार विकासको काम नगर्दा बढी गाली खाइन्छ । विकास निर्माणको काम गर्न थाल्यो स्थानीयवासी इन्च इन्चको हिसाब गर्छन् । जस्तो मापदण्डभित्र पर्ने अतिव्रmमण गरेर बनाइएका संरचनासमेत भत्काउन दिइँदैन । त्यसैले यहाँ सडक, नालाको काम गर्न असाध्य समस्या छ । हिलोमा हिँड्नुभन्दा सबैले सहयोग गरेर कालोपत्रे गराउन सके सहज हुन्छ भनेर बुझ्ने मान्छे निकै कम छन् । सडक, नालाको काम गर्दा मुद्दा हालिहाल्ने प्रवृत्तिले धेरै नै छ । अदालतमा मुद्दा परेपछि वर्षांैसम्म काम हुन सक्दैन । 

स्वास्थ्य सेवाका क्षेत्रमा के के काम भएको छ ? 

स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । स्वास्थ्य संस्थाबाट ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीका लागि जटिल प्रकारका अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रवाहलगायतका काम गरिरहेका छौँ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकाहरूलाई सव्रिmय बनाउने, उच्च मनोबलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भइरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा गाउँवासीलाई सहज रूपमा पुग्ने गरी आधारभूत स्वास्थ्य सेवा (मातृ शिशु, परिवार स्वास्थ्य, बाल स्वास्थ्य, पोषण, बहिरङ्ग सेवा, स्वास्थ्य शिक्षा आदि) निःशुल्क रूपमा उपलब्ध गराइने नीतिलाई निरन्तरता दिइएको छ । सुनौलो हजार दिनका गर्भवती, सुत्केरी तथा बालबालिकालाई दृष्टिगत गरी बहुक्षेत्रीय पोषण कार्यव्रmम विशेष प्याकेजका रूपमा सञ्चालन गर्छौं । ज्येष्ठ नागरिकलाई घरदैलो जाँच कार्यव्रmमलाई निरन्तरता दिइने छ । स्वास्थ्य संस्था लौनियाको मधेपुरा र तोपामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । स्वास्थ्य बिमा कार्यव्रmमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आवश्यक औषधी, अन्य सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेका छौंँ । 

कृषिको क्षेत्रमा के कस्तो सुधार गर्दै हुनुहुन्छ ? 

कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन व्यावसायिक रूपमा पशुपालन व्यवसाय गर्ने कृषकलाई सहकारी संस्थामार्फत ५० प्रतिशत निब्र्याजी ऋण उपलब्ध गराउने कार्यव्रmमलाई निरन्तरता दिएका छौँ । खेतीका लागि कृषि मिटर जडान गरेका कृषकलाई वर्षभरि लाग्ने महसुलमध्ये बढीमा एक हजार रुपियाँसम्म गाउँपालिकाबाट तिर्ने व्यवस्था मिलाएको छु । साथै कृषि विद्युतीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।  

शिक्षा क्षेत्रमा के कस्तो सुधार गर्दै हुनुहुन्छ ? 

यस गाउँपालिकाबाट उत्कृष्ट व्यवस्थापन र शैक्षिक नतिजा ल्याउन सफल हुने एक विद्यालय र दुई विद्यार्थीलाई पुरस्कृत गरिने छ । उच्च शिक्षा अध्ययन गर्न चाहने दलित, गरिब तथा जेहेनदार बालबालिकाका लागि आवश्यक छात्रवृत्तिको व्यवस्था गरिएको छ । उत्कृष्ट नतिजा प्राप्त गर्ने तथा सिकाइ उपलब्धि उच्च रहेका विद्यालय, विषयगत शिक्षक तथा विद्यार्थीलाई अभिप्रेरित गर्न सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरिने छ । 

विद्यालयको भौतिक संरचना सुधार पनि गर्दै हुनुहुन्छ कि ?

पालिकामा जम्मा २० वटा सामुदायिक विद्यालय छन् । तीमध्ये तीन वटा उच्चमावि, चार वटा माध्यमिक विद्यालय, दुई वटा आधारभूत विद्यालय र ११ वटा प्राथमिक विद्यालय छन् । केही विद्यालयमा भवन निर्माणका लागि प्रदेश र केन्द्रसँग बजेट माग पनि गरिरहेका छौँ । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmमबाट पनि अलि अलि गर्दै बजेट आएको छ । त्यसबाट पनि केही भवन बन्दै छ । यसरी कुनै ठाउँमा प्रदेशको बजेट कुनै ठाउँमा पालिकाको बजेटले विस्तारै भौतिक संरचनालाई स्तरोन्नति गर्नेतर्फ लागेका छौँ ।