• ११ असोज २०८१, शुक्रबार

चाडपर्वलक्षित बजार अनुगमन

दोब्बर मूल्य लिएकासँग तीन लाख जरिबाना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ११ गते । चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले बानेश्वरको जिम्बु थकाली रेस्टुरेन्टले उपभोक्ताबाट अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा दोब्बरसम्म लिएको भेटेपछि जरिबाना गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वको सो अनुगमन टोलीले अनुगमनका क्रममा पानीको बोतलमा तोकिएको मूल्यभन्दा दोब्बर लिएको भेटेपछि तीन लाख रुपियाँ जरिबाना गरेको हो । विभागको नेतृत्वमा असोजको पहिलो सातादेखि दैनिक छ/सात वटा छुट्टाछुट्टै विषयगत टोलीले संयुक्त रूपमा चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ ।

विभागका निर्देशक डिकबहादुर कार्कीले अनुगमनका क्रममा सो रेस्टुरेन्टले अनुचित क्रियाकलाप गरेको पाएपछि जरिबाना गरेको जानकारी दिनुभयो । उक्त रेस्टुरेन्ट सञ्चालकलाई आउँदा दिनमा यस्तो कार्य दोहोर्‍याएको पाइएमा हदैसम्मको कारबाही हुने भनेर सचेतसमेत गराएको उहाँले जानकारी दिनुभयो । निर्देशक कार्कीले होटेल, रेस्टुरेन्ट, पसलको अनुगमनका क्रममा सिलबन्द/सिलप्याक गरेका प्याकेटका खाद्यवस्तुको अधिकतम तोकिएको खुद्रा मूल्यभन्दा बढी रकम नलिन र लिएको खण्डमा उपभोक्ता संरक्षण ऐन २०७५ र नियामावली २०७६ अनुसार हदैसम्मको कारबाही हुने बताउनुभयो ।

विभागका महानिर्देशक राजन पौडेलले विभागको नेतृत्वमा असोज पहिलो सातादेखि नै चाडपर्वलक्षित संयुक्त रूपमा अनुगमन सुरु भएको जानकारी दिनुभयो । यसअघि उजुरी, गुनासोसहित दैनिक तीन/चार वटा टोलीमार्फत अनुगमन गर्दै आएको विभागले चाडपर्वमा बढी खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा, भाडावर्तन, फलफूल, तरकारीलगायतमा अनुगमनलाई केन्द्रित गरेको जनाएको छ । यसअघि नियमित तीन/चार वटा समूहले दैनिक आठ/नौ वटा फर्मको अनुगमन गर्दै आएकोमा असोजको पहिलो सातादेखि दैनिक ३५/४० वटा व्यवसायी फर्मको अनुगमन गर्दै आएको छ । 

विभागले उपभोक्ता संरक्षण बजार अनुगमन कार्यक्रमलाई सघन र प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को प्रावधान अनुसार उपत्यकासहित देशभर अनुगमन सुरु भएको जनाएको छ । 

विभागका महानिर्देशक पौडेलले बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित क्रियाकलाप, बिलबीजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्रीवितरणलगायतका कार्यलाई न्यूनीकरण गर्न र स्वच्छ बजार कायम गरी उपभोक्ता अधिकार संरक्षण गर्न विभाग निरन्तर लागिपरेको बताउनुभयो । 

साथै महानिर्देशक पौडेलले उपभोक्ताले होटेल र रेस्टुरेन्टमा खाना खाजा खाने क्रममा सिलप्याक गरेको वस्तुको उपभोग गरेको खण्डमा एमआरपी हेरेर त्यसका आधारमा मात्रै मूल्य तिरेर सचेत उपभोक्ताको जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । आमउपभोक्ता सचेत भएसम्म सरकारको अनुगमन टोलीले अनुगमन गरेर परिणाम नआउने भएकाले हरेक सचेत उपभोक्ताले आआफ्नो जिम्मेवारी पूरा गर्न उहाँले आग्रह गर्नुभयो ।