• ८ माघ २०८१, मङ्गलबार

करोडौँमा निर्मित अस्पताल सञ्चालनमा आएन

blog

नवलपरासी, असोज ५ गते । जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको दुई वर्ष भइसकेको छ । जनप्रतिनिधिहरूबिच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताउनुभयो । उहाँले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो गर्नुभयो । 

“अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ । दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जङ्गल जस्तै बनेको छ ।”

सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुननसक्दा केही समस्या रहेको बताउनुभयो । उहाँले यहाँ देखिएका समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ ।