• ६ पुस २०८१, शनिबार

सबैभन्दा प्रिय शब्द ‘आमा’

blog

‘आमा’ शब्दको उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । आमालाई जन्मदिने स्त्री, मुमा, माता, जननी, महतारी, इजा, दुध दिने गाई, देवी, सन्यासिनी, जोगिनी, पुज्य स्त्री आदि अनेकन नामले शब्दकोशले अथ्र्याएको छ । गुण, कर्म र संस्कारको जननी आमा भएकाले आमाको महिमा अपरम्पार रहेको हुन्छ । सत्य, प्रेम, खुसी, करुणा, न्याय, अहोभाव, सकारात्मक सोच, आदर–सत्कार–सम्मान जस्ता मानवीय मूल्यमान्यताको सहयोगले सन्तानलाई सत्मार्ग पथमा अगाडि बढाउन आमाको भूमिका स्तुत्य रहेको हुन्छ । आफ्ना सन्तानलाई माया, प्रेम, सद्भाव, असल पारिवारिक वातावरण, प्रसन्नता, साझेदारीपूण परिवेश, आपसी सहयोग, परेका अप्ठ्यारा फुकाउँदै सहजीकरण, सामाजिक मूल्यमान्यता, पथप्रर्दशकको भूमिका खेल्न आमाकै स्थान उच्च रहन्छ । बच्चाको सर्वोपरि हित नै आमाको हित हुन जान्छ । 

आमा आफैँमा निर्मल निःस्वार्थ माया मात्र होइन, घाम हुँदा चाहिने छाया पनि हो । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति, दुःखको मलम, प्रेरणाकी स्रोत हुन् । घरभित्र पस्नेबित्तिकै आँखाले खोज्ने आमा, छक्क पर्दा उच्चारण हुने शब्द आमा, दुःखमा पुकार्ने शब्द आमा, स्रष्टा हुन्, धर्ती माता हुन् आमा । हरेक सङ्कटपूर्ण बाटोमा सदैव मातृत्वको छहारी प्राप्त हुन्छ । सन्तापको बेजोड शीतलहरमा पछ्यौरी बनेर न्यानोपन दिँदा होस् या सन्तानको ल्याकत र वर्कतको अकन्टक विनिर्माणमा, मातृत्वको सान्निध्यले जीवनका सम्पूर्ण आयाममा रङ भरिदिन्छ । प्रकृतिको असङ्ख्य प्रकृतिजन्य चारित्रिक विशेषताको समष्टिगत सर्वोच्च पुँजी हो मातृत्व । सारा संसार आमा र उनैका सन्ताप वरिपरि घुमेको छ । स्वयम् जीवनजगत्भन्दा जीवन्त, सत्यभन्दा सजीव, प्रकृतिभन्दा श्रेष्ठ, निर्मल जलभन्दा कञ्चन, प्रकाशभन्दा तेजिलो र ईश्वरभन्दा पनि प्रत्यक्ष मातृत्व प्रदान आमाबाटै प्राप्त गर्न सकिन्छ । 

वैदिक वाङ्मयमा आमाको गरिमा सर्वोच्च रहेको छ । आमालाई पृथ्वी एवं धरातलसँग दाँजिएको छ । भगवान्को नाम उच्चारण गर्दा पनि राधेश्याम, उमामहेश्वर, लक्ष्मीनारायण उच्चारण हुनु आफैँमा गर्वको विषय हो । मातृदेवो भवः आमालाई देवतासमान मान, पितृदेवो भवः बाबालाई देवतासमान मान, गुरुदेवो भवः गुरुलाई देवतासमान मान, अतिथिदेवो भवः पाहुनालाई देवतासमान मान हाम्रा संस्कार हुन् । विश्बन्धुत्वको भावना हाम्रो पहिचान हो । ऐँचोपैँचो, अर्मपर्म एक आपसमा दुःखको बेला सहजै जीविकोपार्जन गर्न अपनाइएका संस्कार हुन् । संस्कार संस्कृतिभित्र विलुप्त रहेका हरेक विषयमा आमालाई नै प्रमुख स्थान दिनु पनि आमाको महिमा विशिष्ट हुनु हो । 

वैदिक सनातन शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नै पर्छ भनिएको छ । सन्तानलाई नौ महिनासम्म गर्वमा धारण गरी जीवन दिने भएकाले आमाको महìव अरूभन्दा हजारौँ गुणा बढी हुने शास्त्रीय मान्यता रहेको छ । आमाले आफ्ना सन्तानलाई गर्ने मायासँग संसारका कुनै पनि बहुमूल्य वस्तुसँग तुलना गर्न सकिन्नँ । आमाको महिमा कलकारले देख्न सक्दैन, कविले लेख्न सक्दैन । 

वैशाखकृष्ण औँसीका दिन आमालाई मिठामिठा परिकार खान र राम्रा राम्रा लुगा लगाउन दिएर सम्मान गरी मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) मनाउने चलन छ । यस दिन दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान, र सिदा दान गर्ने गरिन्छ । यस दिन आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे आमाले खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ । आमाको नाममा दान गर्ने, पुस्तकालय, शौचालय, छात्रवृत्ति, अनाथ अशक्त बालबालिकालाई सहयोग गर्ने चलन पनि रहेको छ । 

आमा कखरा सिकेकी हुन वा नसिकेकी हुन्, आमा सबथोक जान्दछिन् । सन्तानलाई परेको पीडा आमालाई प्रस्ट थाहा हुन्छ । सन्तानका चाहनाका लागि आमाले राप र ताप सहेकी हुन्छिन् । एक सन्तानको सासमा नै आमाको सास अडेको हुन्छ । जब सन्तान जन्मन्छ उसले नयाँ संसार देख्छ तर आमाको अर्को नयाँ संसार त्यो सन्तान नै हुन्छ । आमाका हरेक इच्छा, चाहना, आकाङ्क्षा, सुख यही संसारले खोसिदिन्छ । आमालाई हाँस्नु छ भने सन्तान हाँसे पुग्छ । आमा खुसी हुनु छ भने सन्तानले प्रगति गरे पुग्छ । भगवान् खोज्न मन्दिर जानु पर्दैन । आमाको चरण स्पर्श गरे पुग्छ । धर्म गर्न कुनै दान गर्नु पर्दैन । आमालाई खुसी राखे पुग्छ । चार धाम, सबै तीर्थ, तेत्तीसकोटि देवीदेवता सबै आमामै गएर समाहित भएका छन् । 

छोराछोरीलाई नैतिक, सामाजिक, सांस्कृतिक एवं व्यावहारिक ज्ञानका कुरा सिकाउन आमाको अहम् भूमिका रहेको हुन्छ । उनीहरूले बोलीचालीको भाषादेखि आफन्तसँगको सम्बन्ध, नाता, व्यवहार, मानसम्मान, आदरसत्कार सद्भाव, सद्व्यवहार, अनुशासन जस्ता कुराको ज्ञान घरबाट नै सिक्ने गर्छन् । आफ्ना छोराछोरीलाई कुनै पनि व्यक्तिसँग भेट्दा सुरुमा गरिने नमस्कारदेखि छुट्ने बेलासम्मका शिष्टाचार सिकाउनु पर्छ । असल मानिस बन्न असल व्यवहार अनिवार्य सर्त हुन जान्छ । व्यक्ति अनुसार बालक, युवा, तन्नेरी, वृद्धावस्था हेरेर व्यवहार गर्नु पर्छ । आफ्ना आफन्त, इष्टमित्र, नातागोता अनुसार नाता सम्बन्ध चिनाउने, ढोग्ने, संस्कार सिकाउने, आदरसम्मान, चालचलन, सामाजिक मूल्यमान्यता, रीतिरिवाज सिकाउने कुरामा आमाको विशेष भूमिका रहेको हुन्छ । आमाको आशिर्वाद छ भने सब थोक छ । 

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठुला एवं प्यारा हुन् । मातृ महिमा र सन्तानप्रति आमाको त्याग र समर्पणको गुणगान जति गरे पनि कम हुन्छ । मातृत्वले नारीलाई सर्वाधिक कमजोर पनि बनाउँछ भने त्यसैले उसलाई सर्वाधिक शक्तिशाली पनि बनाउँछ । मातृत्वले उग्र नारी शक्तिलाई शान्त पार्न सक्छ भने शान्ति सौम्य र कल्याणकारी मातालाई पुनः उग्र र विनाशकारी शक्तिमा रूपान्तरित गर्न पनि सक्छ । सृष्टिको सर्वाधिक सुन्दर अनि शक्तिशाली तìव नै मातृत्व हो भन्ने कुरा हाम्रा पौराणिक शास्त्रहरूमा भएका अनेकन प्रसङ्गले पनि पुष्टि गर्छन् । 

सानो छँदा हाम्रो गाउँ घरमा मिलको व्यवस्था थिएन । ढिकी जाँतो गरेर चामल पिठो तयार गर्नु पर्ने बाध्यता थियो । धान फल्ने खेत धेरै थिएन । एक दिन आमाले जाँतामा कोदो पिँध्दै गर्दा म छेउमा बसेको थिएँ । मैले कोदाको डालीमा एउटा धानको बियाँ देखेर आमा मलाई यस धानको भात पकाइ दिनु भने । आमाले मेरो कुरा सुनेर कोदाको डालीलाई जाँतोमाथि राखेर डोकाले छोपेर साहुकोमा गएर धान किनेर ल्याउनु भयो । धान ओखलमा कुटी चामल तयार पार्नु भयो । भात पकाएर मलाई खान दिएपछि मात्र आमाले पुनः जाँतोमा बाँकी रहेको कोदो पिँध्नु भयो । यस्ता कुरा म ठुलो भएपछि आमाले मलाई भन्नुहुन्थ्यो । आमाका ती वचन सुन्दा मभित्र आँसु सिवाय केही आएन । आमा अहिले भौतिक रूपमा हुनुहुन्न । उहाँका यस्ता धेरै प्रसङ्गले मेरो मन चस्सचस्स भइरहन्छ । मेरो मुटु छियाछिया हुन पुग्छ । आमाको माया सम्झँदा छाती चरक्कचरक्क चिरिन पुग्छ । आँखाबाट आँसुका बलिन्द्र धारा प्रवाहित हुन पुग्छन् । अनि ती आँखाभित्रै विलुप्त हुन पुग्छन् । 

आमाका एकै दिन धेरै काम हुने गर्छन् । छोराछोरीको पढाइ लेखाइ, खानपिन, सरसफाइ, घरपरिवार, इष्टमित्रका साथै आफ्ना कला, संस्कृति सभ्यतालाई नयाँ पुस्तामा सार्ने कामदेखि लिएर आदरसत्कार सम्मानमा समेत आमाकै विशिष्ट योगदान रहेको हुन्छ । जीवनको उत्तरार्धमा आफ्नै सन्तानको हेय र दुव्र्यवहारका कारण आफ्नो रगत पसिना अनि प्रेम र आस्थाले उभ्याएको घरको परित्याग गरेर बलिन्द्रधारा आँसु झाँर्दै मठ–मन्दिर अनि वृद्धाश्रमको शरणमा पुग्छिन् । यस्तो दुर्दशाबाट हामीले आमा, बुबा, हजुरबुबा, हजुरआमालाई टाढै राख्न सक्नु पर्छ । तैतिरीयोपनिषद्मा मातृ देवो भवः अर्थात् आमालाई देवी सरह मान, आमाको भक्त होऊ भनिएको छ । स्तोत्रवलीमा कुपुत्रो जयते क्वचिदपि कुमाता न भवति अर्थात् सन्तान कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भनिएको छ । 

संसारका प्रत्येक आमा महान् र पुज्य भएकाले आमाको सम्मान गर्नु प्रत्येक सन्तानको मुख्य कर्तव्य हो । मेरो हृदयदेखि नै उच्च सम्मान एवं सलाम छ सबै आमालाई । मातृवात्सल्यलाई अतस्करणबाट सप्रेम अभिनन्दन गर्दै आमाको वात्सल्य पाएर मन्त्रमुग्ध रहेका र मातृवात्सल्य विमुख भए पनि प्रकृतिको स्नेहबाट स्पन्दित सम्पूर्ण जनमा हार्दिक नमन । त्यसैले त भनिन्छ–आमा संसारकै सबैभन्दा मिठो र प्रिय शब्द हो ।  

Author

केशव चौलागाई