• ११ असोज २०८१, शुक्रबार

‘उत्पादन बढाएर आयात प्रतिस्थापन गरौँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य सङ्घको ४५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा केही छैन भन्ने निराशाबाट बाहिर निस्केर उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । लगानी सम्मेलनमार्फत नीतिगत सुधार गरे पनि मुलुकमा पर्याप्त लगानी भित्रिन नसकेको बताउनुभएको छ । “सम्भावना हुँदाहुँदै पनि निराशा फैलाउन थालिएको छ,” उहाँले भन्नुभयो, “यसबाट बाहिर निस्केर आन्तरिक उत्पादन बढाएर आर्थिक समृद्धितर्फ पुग्ने सरकारको लक्ष्य छ ।” 

सो क्रममा मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत नीतिगत सुधार गरे पनि मुलुकमा पर्याप्त लगानी भित्रिन नसकेको बताउनुभयो । लगानीको वातावरण अनुकूल बनाएर लगानीका क्षेत्र प्राथमिकीकरण गरे पनि लगानी भित्रिन नसकेको उहाँको भनाइ थियो । “सरकारका नीति तथा कार्यक्रममा केही कमजोरी भए सच्याउन तयार छौँ,” उहाँले भन्नुभयो, “निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नु पर्छ ।” 

सरकार निजी क्षेत्रसँग मिलेर आर्थिक विकासका लागि तयार रहेको पनि उहाँले बताउनुभयो । उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सुधारका योजना ल्याइएको मन्त्री भण्डारीले बताउनुभयो । 

सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताउनुभयो । उहाँले इमानदार हिसाबले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न सके छोटो समयमा नै धेरै काम गर्न सकिने उहाँको भनाइ छ । पर्यटन, जलविद्युत्को क्षेत्रमा ठुलो सम्भावना रहेको बताउँदै ढकालले त्यसतर्फ लगानी विस्तार गर्दै जानुपर्ने बताउनुभयो ।  

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज वज्रचार्यले उद्योग व्यवसायको विस्तार नभई मुलुकको आर्थिक विकास नहुने हुँदा दीर्घकालीन रूपमा अर्थतन्त्रको विकास गर्नेतर्फ सरकार र निजी क्षेत्र मिलेर लाग्नुपर्ने बताउनुभयो । स्वदेशी उत्पादनको लागत महँगो हुँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा उचित मूल्य पाउन नसकेको उहाँको भनाइ छ । स्वदेशमै सम्भावना भएका क्षेत्रमा लगानी गर्न सरकारले उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।