• ११ असोज २०८१, शुक्रबार

राउटे सहजै स्विकार्छन् ‘मृत्यु’

blog

ललित बसेल

सुर्खेत, असोज ५ गते । दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो । 

बेलैमा उपचार गर्न नमानेपछि शाहीको स्वास्थ्य गम्भीर भएपछि मात्रै अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा क्षयरोग लागेको देखिएको थियो । क्यान्सरको आशङ्का गरी थप उपचार गर्न चिकित्सकको सल्लाह नमानेपछि शाहीलाई बस्ती ल्याउँदै गर्दा ज्यान गुमेको हो । 

गत वर्ष मात्रै आठ जना राउटेको मृत्यु भयो । २०८० जेठ २३ गते कर्णबहादुर शाही, असोज ८ गते तुलसी शाही र सिस्नेरी शाही, कात्तिक १९ गते महिनबहादुर शाही, मङ्सिर २७ गते सिमल शाही, पुस ९ गते भद्रबहादुर शाही, माघ २७ गते बालकुमारी शाही र माघ २८ गते भैरव शाहीको मृत्यु भएको राउटे समुदायमा काम गर्दै आएको दैलेखको सोसेक संस्थाको राउटे परियोजनाले जनाएको छ । 

परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले २०७५ सालयता मात्रै ४३ जना राउटेको मृत्यु भएको बताउनुभयो । धेरै जसो राउटे बस्ने गरेको दैलेखको गुराँस गाउँपालिकामा २०७५ असारदेखि राउटे परियोजना लागु गरिएपछि राख्न थालिएको तथ्याङ्क अनुसार हालसम्ममा ४३ जनाको मृत्यु भएको हो । 

औषधी र खोप लगाउँदैनन् 

छ वर्षको अवधिमा मृत्यु भएका ४३ जना राउटेमा धेरै जसो पुरुष छन् । त्यसमा पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । कोही बिरामले, कोही सिकार खेल्ने क्रममा र कोही अधिक रक्सी पिएर राउटेको मृत्यु भएको पाइन्छ । त्यसै गरी पोषिलो खानेकुराको अभावले राउटे समुदायका बालबालिकाको मृत्यु हुने गरेको जोडी शिक्षक खत्रीले बताउनुभयो । बिरामी भए उपचारका लागि उनीहरूलाई अस्पताल लान पनि निकै कठिन हुन्छ । उहाँले बरु मृत्यु सहजै स्विकार्ने राउटेलाई उपचार गर्न मनाउन साह्रै कठिन हुने गरेको जनाउनुभयो । उहाँ भन्नुहुन्छ, “औषधी खान र सुई लगाउन त राउटे मान्दै मान्दैनन् ।”  उहाँका अनुसार बिहीबार ज्यान गुमाएका राउटे किशोर वृषबहादुर शाही बिरामी हुँदा बारम्बार उपचार गर्न आग्रह गरिएको थियो । उहाँले भन्नुभयो, “बारम्बार उपचार गर्न आग्रह गर्दा पनि राउटेहरूले बरु मर्छौं तर उपचार गर्दैनौँ भनेकाले ढिला भयो । बल्लतल्ल उपचार गर्न माने पनि ढिलो भएको हुँदा शाहीको मृत्यु भयो ।”

शोकपछि बसाइँ सराइ 

२०७५ यता राउटे ९४ ठाउँमा बसाइँ सरेका छन् । राउटे समुदायका कुनै सदस्यको मृत्यु भएमा उनीहरू तत्कालै बसाइँ सर्छन् । जोडी शिक्षक खत्रीले छ वर्षको अवधिमा राउटे ९४ ठाउँमा बसाइँ सरेको जानकारी दिनुभयो । 

राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका छन् । राउटेहरू धेरै जसो सुर्खेत, दैलेख, अछाम, जाजरकोट, दाङका जङ्गलहरूमा घुम्दै बस्ने गर्छन् । परिवारका कुनै सदस्यको मृत्यु हुनुका साथै पानी र बस्तीनजिक भएको ठाउँसमेत  उनीहरूको रोजाइ बन्छ । 

राउटेहरू जति ठाउँमा बसाइँ सर्छन्, आफूहरू पनि उनीहरूसँग जानुपर्ने जोडी शिक्षक खत्रीले बताउनुभयो । उहाँले आफूहरू राउटे बस्तीनजिकको गाउँमा भाडामा बस्ने गरेको बताउनुभयो ।

परियोजनामा चार जना कर्मचारी छन् । उहाँले दुई जना स्वास्थ्यकर्मीसहित आफूहरू दुई जना शिक्षक रहेको बताउनुभयो । अहिले राउटेको सङ्ख्या १३४ मा झरेको छ ।

वृषबहादुर शाहीको मृत्यु भएपछि राउटेको सङ्ख्या १३४ मा झरेको हो । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । नागरिकता नबनाउने उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र बनाएर सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।