• ११ असोज २०८१, शुक्रबार

सम्झौता अवधिमा बनेन सडक

blog

बाँकेको परसपुर–गौघाट सडक खण्ड ।

कमल खत्री

धम्बोझी, असोज ४ गते । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले गुनासो गरेका छन् । 

सडक निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभीले २०७९ वैशाखदेखि निर्माण कार्य सुरु गरेर २०८१ भदौं २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण सम्झौता अवधिमा २० प्रतिशतभन्दा बढी काम हुन नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर टोपेन्द्र खड्काले बताउनुभयो । 

समयमा काम नगर्ने कन्काई–गणपति जेभीलाई कारबाही गर्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् । पटक–पटक स्थानीयले बिरोध गरे पनि सडक निर्माणमा भने सन्तोषजनक प्रगति हुन सकेको छैन् । निर्माणका क्रममा ठेकेदार कम्पनीले सुरुआत देखि नै लापरबाही गरेको देखिन्छ । 

सडक डिभिजन कार्यालय नेपालगञ्जको नयाँ कार्यालय प्रमुखको जिम्मेवारीमा आउनुभएका सिनियर डिभिजनल इन्जिनियर नरेन्द्र भंटले योजनाबारेमा छिटै अध्ययन गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढने बताउनुभयो । 

ठेकेदार कम्पनी कार्यालयको सम्पर्कमा आएको बताउँदै उहाँले छिटै काम सम्पन्न गराउन ताकेता गरिने जानकारी गराउनुभयो । बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको सडक हो परसपुर–गौघाट सडक खण्ड । संघीय सरकारको लगानीमा बन्न लागेको सो सडक खण्ड निर्माणका लागि कन्काई–गणपति जेभीले दुई वर्षअघि ठेक्का पाएको थियो । 

नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्न कन्काई–गणपति जेभीले करिब १४ करोड रुपियाँमा ठेक्का पाएको थियो । ठेक्का पाएको कन्काई–गणपति जेभीले सडक निर्माण कार्यमा सुरुवातदेखि नै ढिलाइ गर्दैआएको छ । 

ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैया ताल गाउँपालिकाका जनताले दैनिक यो सडक खण्ड प्रयोग गर्छन् ।  

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल सो योजनाको २० प्रतिशत मात्र काम सकिएको छ । सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरु केही प्रगति भएको छ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरे पनि सम्पर्कमा नआउने गरेको इन्जिनियर सुवेदीले बताउनुभयो । 

परसपुर–गौघाट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दैं यहाँका स्थानीयले आन्दोलन गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने दबाब दिंदैआएका छन् । 

सडक समयमै निर्माण नभएको भन्दैं स्थानीयले खजुरा गाउँपालिका २ को कार्यालयमा तालाबन्दी गरेका थिए । तर सुनुवाइ भएको छैन । बाँकेको पश्चिम क्षेत्रमा पर्ने सो सडक खण्डले सिमावर्ती क्षेत्रका बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने काम गर्छ ।

यसैगरी गत माघ महिनामा सम्झौता अनुसार सन्तोष जनक काम नगरेको भन्दैं सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सात दिनभित्र कार्य सम्पादन सन्तोषजनक नभएको बारेमा लिखित प्रतिवेदनसहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । 

सडकको निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभीले सुरुमा करिब डेढ करोड रुपियाँ जति रकम सरकारबाट भुक्तानी लिइसकेको छ । यस आर्थिक वर्षमा २ करोड ४० लाख रकम बजेट आएको हुँदा काम गर्न कम्पनीलाई दबाब दिदैंआएको इन्जिनियर टोपेन्द्र खड्काले बताउनुभयो ।