सिराहा जिल्लाका १७ स्थानीय तहमध्ये कर्जन्हा नगरपालिका पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । ७६.८४ वर्गकिलोमिटरमा फैलिएको यो नगरपालिका उत्तरमा चुरे पर्वत र दक्षिणमा कल्याणपुर नगरपालिका, पश्चिममा सिराहा र धनुषाको सिमाना रहेको कमला नदीसँग जोडिएको छ । यस नगरपालिकाका ११ वडामा मिश्रित समुदायको बसोबास भए पनि सबैभन्दा बढी ६० प्रतिशत दलित समुदायको जनसङ्ख्या छ । राजनीतिक परिवर्तनमा महŒवपूर्ण भूमिका खलेको यस नगरपालिका कम्युनिस्टहरूको बलियो किल्लाका रूपमा रहँदै आएको छ । कर्जन्हा गौताडी, बडहारामाल, कल्याणपुर कलावन्जर गाउँ विकास समिति मिलेर यो नगरपालिका गठन भएको हो । २०७४ सालमा नेकपा (माओवादी) ले जित हासिल गरेको यस नगरपालिकामा २०७९ सालको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट भोलाप्रसाद पोखरेल निर्वाचित हुनुभयो । नगरप्रमुख पोखरेलसँग गोरखापत्र दैनिकका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :
निर्वाचित भएको दुई वर्षभन्दा बढी समय बितेको छ । नगरपालिकाको समग्र विकास कसरी अघि बढिरहेको छ ?
कर्जन्हा नगरपालिकाको चुरेसँग जोडिएको १, २, ४, १० र ११ नम्बर वडा रहेका छन् । राजमार्गदेखि दक्षिणतर्फ छ वटा वडा रहेको यस नगरपालिकाको समग्र विकासका लागि दलीय चस्मा लगाएर सम्भव छैन । सबै दलका भावना र चाहना पूरा गर्न अभिभावकीय भूमिका खेलेर नगरपालिकालाई पर्यावरणमैत्री र विकास निर्माणमा सबैको साथ र सबैको विकास होस् भन्ने नीति अख्तियार गरी सुरुदेखि नै प्रयासरत रहेँ । अहिले पनि त्यही नीति अनुसार अघि बढ्दा असहयोग र अल्पमत महसुस भएको छैन । सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पर्यावरणको कार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ ।
यहाँ बगर खेती निकै चर्चामा छ । तपाईंले बगर खेतीलाई प्राथमिकता दिइने भनी चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएको थियो । यस विषयमा बताइदिनुस् न ?
नगरप्रमुख नहुँदा पनि बगर खेतीबाट विपन्न परिवारलाई रोजगारी सिर्जना गर्नुपर्ने आवाज उठाउँदै आएको थिएँ । निर्वाचित भएपछि बगर खेतीलाई प्राथमिकता दिएका छौँ । वडा नं. ६ र ७ मा बगर खेतीका लागि युएनडिपीसँग मिलेर २१३ बिघामा २४३ घरपरिवारलाई बगर खेती गर्न सिँचाइका लागि बोरिङ, ट्याक्टरलगायत कृषि उपकरण, मल, बिउ उपलब्ध गराउनुका साथै आँप खेतीसमेत गरिदिएका छौँ । जनतासँग गरेका प्रतिबद्धता सम्झेर काम गरिरहेका छौँ ।
नगरपालिकाका पाँच वटा वडा चुरेसँग जोडिएका छन् । पर्यावरणमैत्री नगरपालिका बनाउन कस्तो प्रयास भइरहेको छ ?
चुरेको रक्षा भएन भने मधेसको रक्षा नहुने स्पष्ट छ । नगरपालिकाको चुरे क्षेत्रमा ११ हजार वृक्षरोपण कार्य भइसकेको छ । प्रत्येक वर्ष वृक्षरोपण कार्यलाई निरन्तरता दिइने छ । यस विषयमा नगर परिषद्मा पनि प्रस्ताव राखेर चुरे संरक्षणका लागि विज्ञहरू ल्याई वृक्षरोपणसँगै थप कार्यव्रmम ल्याउन प्रयास थालेका छौँ । वृक्षरोपण र पर्यावरण कार्यव्रmमलाई प्राथमिकतामा राखेर चुरे जोगाऊँ संस्कृतिको अभ्यास गर्ने वातावरण र माहोल बन्दै गएको छ ।
शिक्षा क्षेत्रको विकासका लागि के कस्ता योजना छन् ?
नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । निर्वाचित भएर आएपछि ‘एक कक्षा एक शिक्षक’ को नारा तय गरी ४६ स्वयंसेवक शिक्षक भर्ना गरेर शैक्षिक र भौतिक विकासमा जोड दिएका छौँ । ११ वटा नयाँ भवन निर्माण गरिसकेका छौँ । जस्तापातामुक्त विद्यालय अभियान अन्तर्गत १९ वटै विद्यालयमा पक्की भवन निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आइरहेका छौँ । प्रत्येक विद्यालयमा यस वर्ष पङ्खा जडान गरिसकेका छौँ । शिक्षामा व्यापक सुधारका लागि शैक्षिक परामर्श कार्यव्रmमलाई समेत निरन्तरता दिइरहेका छौँ । वडा नं. ३ मा एउटा थप सामुदायिक विद्यालय सञ्चालन गरिएको छ । शिक्षामा भइरहेको सुधारबाट केही भएको अनुभूति हुन थालेको छ । १२ कक्षासम्म निःशुल्क पढाइका लागि थप बजेट विनियोजन भएको छ । अनुगमन कार्यलाई निरन्तरता दिँदा शिक्षामा सुधार भइरहेको छ ।
६० प्रतिशत दलितको बसोबास रहेको यहाँका दलितहरूको आवास समस्यालाई कसरी समाधान गर्दै हुनुहुन्छ ?
यहाँको दलित बस्तीमा सुरक्षित आवास अन्तर्गत एक सय घर निर्माण भएको छ । एक हजार घर निर्माण गर्ने उद्देश्य छ । सोचे अनुसार बजेट नहुँदा समस्या भएको छ । सङ्घ र प्रदेश सरकारसँग थप सहयोगका लागि पटक पटक बजेट माग गरिरहेका छौँ । सङ्घ र प्रदेश सरकारले सहयोग गर्ने आशा छ । दलित विपन्नको सुरक्षित आवासका लागि पदीय जिम्मेवारी पूरा गर्न प्रयासरत छौँ ।
स्वास्थ्य सेवाको प्रबन्ध कसरी मिलाउनु भएको छ ?
पालिकाका ग्रामीण भेगका स्वास्थ्य शिविर सञ्चालन गरी १२६ महिलाको पाठेघरको शल्यव्रिmया र ६५ पुरुषको हाइड्रोसिलको उपचार गरेका छौँ । दूरदराजका स्थानीयलाई स्वास्थ्य उपचारका लागि एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । चार वटा स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा मिलाइएको छ । यसको विस्तारका लागि थप जनशक्ति आवश्यक रहेकाले त्यसमा प्रयासरत छौँ । स्वास्थ्य सेवामा उल्लेखनीय फड्को मार्न नसके पनि आउँदो आवमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने सोचमा छौँ ।
किसानको हकहितका लागि के के काम गर्नुभएको छ ?
पालिकामा शीतभण्डार (कोल्ड स्टोर) अति आवश्यक देखिएकाले यसका लागि जग्गा व्यवस्थापन गरेर निर्माण अघि बढाएका छौँ । कर्जन्हा, बस्तीपुर र बन्दीपुरलाई विस्तार गरी कृषि हाटका रूपमा विकास गर्ने योजना बनाइरहेका छौँ । किसानलाई आवश्यक ज्ञान, सिपका लागि तालिम, बिउ, मलखाद व्यवस्थापन, सिँचाइका लागि बोरिङ र उत्तराहिनी सिँचाइ नहर सञ्चालनमा जोड दिइएको छ ।
सडक पूर्वाधार र पर्यटन क्षेत्रमा के के विकास भएको छ ?
नगरपालिकामा १० किलोमिटर पक्की सडक, २० किलोमिटरभन्दा बढी कृषि सडक निर्माण भएको छ । पर्यटकीय क्षेत्रका रूपमा रहेको बाबाताल उत्तरवाहिनीलाई विकास गर्न प्रदेश सरकारबाट भएको सहयोग र नगरपालिकाले आफ्नै स्रोतबाट पर्यटक लोभ्याउने संरचना र सडक निर्माण जारी छ । निर्माण सम्पन्न भएपछि नगरपालिकाको आम्दानीमा बढोत्तरी हुने विश्वास छ । पर्यटकीय क्षेत्रको ठेक्का टेन्डर गरेर व्यवस्थित गर्ने गृहकार्यमा लागिसकेका छौँ ।
नगरपालिकाले कसरी सामाजिक न्याय सम्पादन गरिरहेको छ ?
न्यायिक क्षेत्रमा हाम्रो पहल सन्तोषजनक छ । न्यायिक समितिमा आउने हरेक मुद्दाको छिनोफानो भइरहेको छ । हरेक वडामा रहेका वडास्तरीय मेलमिलाप केन्द्रले सव्रिmयतापूर्वक काम गरिरहेका छन् । यस वर्ष २५ भन्दा बढी मुद्दा न्यायिक समितिले फस्र्र्योट गरेको छ । नगरपालिकाको प्रशासनिक भवनको विषयमा विवाद रहेकाले नगरपालिका र ११ वटै वडाको कार्यालय सामुदायिक भवनहरूमा सारेर आर्थिक भार कम गरेका छौँ । यसभन्दा अघिका नगरप्रमुखले वार्षिक २० लाख रुपियाँ खर्च गरिरहेकामा त्यसलाई तीन लाख रुपियाँमा झारेका छौँ ।