• ७ माघ २०८१, सोमबार

वैशाख ७ गते राष्ट्रिय याक दिवस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभएको थियो । याक तथा चौँरीको संरक्षण संवर्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषिमन्त्री अधिकारीले बताउनुभयो । याक दिवसको घोषणाले याकजन्य वस्तुको गुणस्तर वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरीको विकास र प्रवर्धनमा सहयोग पुग्ने र यसको संरक्षण, प्रवर्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ । 

जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौँरीको विकास गरिने भएकाले जङ्गली याकको संरक्षण चौँरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा–३ फ्याट्टी एसिडको स्रोत रहेको र याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, याकको  दुधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहिआएको छ ।  याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । 

याक अनुवांशिक स्रोत केन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।