• २ असोज २०८१, बुधबार

पाल्पामा २८ समूहको लाखेनाच प्रदर्शन

blog

इमान सिं राना

पाल्पा (रामपुर), असोज २ गते।  नेवारी समुदायको संस्कृतिमा आधारित लाखेनाचको संरक्षण तथा प्रवर्द्धनका लागि जिल्लाको रामपुर नगरमा बृहत लाखेनाच प्रदर्शन गरिएको छ।  रामपुर–५, बेझाँड बजारमा भएको १४ औं लाखेनाच प्रदर्शनीमा २८ समूहको लाखेनाच एउटै मञ्चमा प्रदर्शन गरिएको हो। 

रामपुर नेवाः समाजको आयोजना र नेवाः देय दवु रामपुर नगरको संरक्षणमा भएको कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका लाखेनाच प्रदर्शन गरिएको थियो।  प्रदर्शनीमा सहभागी लाखेनाच बेझाँड बजारमा एकै पटक निकालिएको थियो।  लाखेनाच बेझाँड बजार परिक्रमा गर्ने क्रममा बुधबार ढोलकी, झ्याम्टाको आवाजले बजार क्षेत्र गुन्जायमान भएको थियो।  नेवार समुदायका बालबालिका, युवा, प्रौढदेखि वृद्धसम्म जातीय भेषभुषामा  सजिएर बजार पक्रिममामा सहभागी भएका थिए।  लाखेनाच अवलोकनका लागि हजारौंको सहभागीता रहेको थियो।  

रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले लाखेनाच प्रतिको आकर्षण पछिल्लो समय थप बढ्दो क्रममा रहेको बताउनुभयो।  समाजले नयाँ पुस्तालाई संस्कृतिका बारेमा जानकारी दिन तथा संस्कृतिको संरक्षणको लागि विगत १६ वर्षदेखि हरेक वर्ष श्राद्धपूर्णिमको दिन कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।  

नेवाः देय दवु रामपुर नगरका  अध्यक्ष रुद्रनारायण श्रेष्ठले लाखेनाच प्रदर्शनीले लोप हुनै आँटेको लाखेनाच संरक्षण र वर्द्धननमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो।  

रामपुर नेवाः समाजका सचिव विमल श्रेष्ठले यस वर्ष तीन जिल्लाका २९ समूहले प्रदर्शनीमा सहभागीता जनाएको जानकारी दिनुभयो। प्रदर्शनीले स्थान विशेष फरकफरक रहेका लाखेनाचको बारेमा जान्न र बुझ्न अवसर प्रदान गरेको बताउनुभयो।  लाखेनाच बेझाँड बजार परिक्रमा पश्चात रामपुर नगरपालिकाको परिसरमा पालै पालो प्रदर्शन गरिएको थियो। 

 कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले नेवार समुदायलाई व्यापार व्यवसाय गर्ने, संस्कृतिमा धनी समुदायकोे रुपमा लिईने बताउनुभयो।  रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले संस्कृतिको संरक्षणसंगै विकृति र विसंगति हताउँदै अघि बढ्न आग्रह गर्नुभयो।  रामपुर उद्योग वाणिज्य संघ भोजेन्द्र प्रकाश ढकालले प्रदर्शनी कार्यक्रमले संस्कृति संरक्षण र भाइचारको सम्बन्ध थप बलियो बनाउन मद्दत गरेको बताउनुभयो।