• २ असोज २०८१, बुधबार

‘बाल विवाहको अन्त्य जरुरी छ’

blog

जनकपुरधाममा भएको बाल विवाह मुक्त पालिका, क्षेत्रसम्बन्धी परार्मश कार्यक्रममा सहभागीहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, असोज २ गते । बालबालिकाको सर्वाङ्गिण विकासका लागि बाल विवाहको अन्त्य हुन जरुरी भएको वक्ताहरुले बताउनुभएको छ ।कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक विकृतिको रुपमा रहेको वाल विवाह नियन्त्रणका लागि मधेश प्रदेशमा विद्यालय तहबाटै कडाइ गर्नुपर्ने बताउनुभयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वय तथा लाइफ नेपालको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बाल विवाह मुक्त पालिकासम्बन्धि भएको परामर्श बैठकमा सहभागीले सो सुझाव दिनुभएको छ । 

सहभागीहरूले अहिलेको खानपान, रहनसहन तथा सामाजिक सञ्जालमा देखिएको विकृतिका कारणले विद्यालयबाट भागेर विवाह गर्ने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको उहाँहरुको भनाइ छ । बाल विवाह गर्ने तथा गराउने दुवै पक्ष कानुनी रुपमा दोसी हुने भएकाले बाल विवाह न्यूनीकरणका लागि नियन्त्रण, प्रवर्धनको खाँचो औल्याउनुभयो ।

परामर्श बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले विद्यालय तहबाट नै वाल विवाह नियन्त्रणका लागि विशेष कार्यक्रम गर्न आवश्यक भएको बताउनुभयो । बाल विवाहका कारणले बालबालिकाको शिक्षा, रोजगारी तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिका तयार भएको बताउनुभयो । 

उहाँले अशिक्षा, गरिबी तथा पछौटेपनाका कारणले बाल विवाह हुने गरेको भए पनि पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगले समेत बाल विवाह बढेको दाबी पनि गर्नुभयो । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले बालविवाह कानुनी रुपमा दण्डनीय हुनुका साथै सामाजिक अपराध भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष तथा निकाय लाग्न आवश्यक भएको बताउनुभयो । 

उहाँले स्थानीय तहले बालविवाह गर्नेलाई कुनै प्रकारको सिफारिस नगरेको खण्डमा बालविवाहको प्रभावकारी नियन्त्रण हुने र यसबाट नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई बाल विवाह मुक्त देश बनाउने अभियान सफल हुने बताउनुभयो । मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले मिथिला नगरपालिकालाई बालविवाह मुक्त नगर बनाउन आफूले सबै प्रकारको प्रयास गर्ने बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशमा बाल विवाहको अवस्था र सरकारको प्रयासको विषयमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमार खत्री तथा बालविवाह न्यूनीकरणका विषयमा प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिले जानकारी सहितको कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । 

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न पालिकाबाट सहभागी भएका जनप्रतिनिधि र कर्मचारीले आफनो पालिकामा बालविवाह नियन्त्रणका लागि विभिन्नखालका कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।