• १ असोज २०८१, मङ्गलबार

वन व्यवस्थापन अहिलेको चुनौती : मुख्यमन्त्री लामा

blog

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा कार्यक्रममा ।

वसन्त पराजुली

नारायणगढ असोज १ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वन व्यवस्थापन अहिलेको चुनौती भएको बताउनुभएको छ । जलदेवी सामुदायिक बन उपभोक्ता समूहको २५ औँ स्थापना दिवस एवं रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वन व्यवस्थापनमा आउने चुनौती तथा बाधा व्यवधानलाई ऐनबाट समाधान खोज्नुपर्छ भन्नुभयो ।  

“वनलाई कसरी व्यवस्थित गर्ने भन्ने अहिलेको चुनौती हो । वनलाई व्यवस्थित गर्ने सवालमा आउने चुनौतीहरू समाधान गर्न जरुरी छ” उहाँले भन्नुभयो । उहाँले नेपालमा उत्पादित वन पैदावारले नेपालको उपभोक्तामा अपुग भएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

“हामीले यत्रो उत्पादन गरेका छौँ । हामीसँग यति धेरै वन छ तर पनि विदेशी काठहरू ल्याउनुपर्ने बाध्यता किन परिरहेको छ ? अग्राखको काठ किन्न खोज्दा मलेसियाबाट आउने काठ कसरी हामीभन्दा सस्तो भइरहेको छ ?” उहाँले प्रश्न गर्नुभयो, “पहिला हामी सच्चिऊ अनि समाज सुधारौँ । समस्याको समाधान त्यही निस्कनेछ ।” 

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातवरणमन्त्री कृष्ण सिलवालले नेपाललाई विश्वमा परिचित गराउने काम सामुदायिक वनहरूले गरेका बताउनुभयो । उहाँले नेपालका सामुदायिक वनहरूको संरक्षणमा पनि जोड दिनुभयो । 

“सामुदायिक वन समुदायकै सम्पत्ति हो । जीवन उपयोगी हुन जरुरी छ । यसलाई उपभोक्ताको जीवन उपयोगी बनाउन आवश्यक छ । वन ऐन संशोधन गरेरै भए पनि जीवन उपयोगी बनाइने छ” उहाँले भन्नुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सामुदायिक वन र त्यो भित्रका सिमसार क्षेत्रले नै भरतपुरलाई पर्यटन विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।  

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन उपभोक्ता समितिकै कारण नेपालमा वन संरक्षण र प्रवर्धन भएको दाबी गर्नुभयो । पर्यापर्टन, जिवीको निर्वाहमा सामुदायिक वनको भूमिका महत्त्वपूर्ण रहेको पनि उहाँले जनाउनुभयो । 

कार्यक्रममा बोल्दै बागमती प्रदेशका  पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उत्तम जोशीले नेपालमा वन कुहिएर गएकाले यसको सदुपयोग गर्न जोड दिनुभयो । कार्यक्रममा वन उपभोक्ता समितिको रजत महोत्सव स्मारिका अनावरण गरिएको छ ।