• १ असोज २०८१, मङ्गलबार

डेढ करोडभन्दा बढीको अवैध सामान बरामद

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज १ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनामा डेढ करोडभन्दा बढी रुपियाँको अवैध भन्सार छलीको सामान बरामद गरेको छ । भदौ महिनामा भारतबाट भन्सार छली गरी अवैधरुपमा नेपाल ल्याइएका डेढ करोडभन्दा बढी रुपियाँका विभिन्न मालसामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त महिनामा एक करोड ५८ लाख ६३ हजार ५४७ रुपियाँ बराबरको अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याइएका विभिन्न मालसामान बरामद गरिएको, सामान ल्याउन प्रयोग गरिएका एउटा कार, एउटा मोटरसाइकल पनि बरामद भएको र त्यस कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको जनाएको छ।

त्यसैगरी ट्राफिक कारवाहीतर्फ २३७७ वटा सवारीसाधनलाई कारबाही गरिएको र १८ लाख ८३ हजार रुपियाँसमेत राजस्व सङ्कलन भएको छ । प्रहरीले भदौ महिनामा विभिन्न अपराधसम्बन्धी ६३ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न ६२ जना व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाएको छ । यसै समयअवधिमा २४ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । अदालतबाट ९ वर्ष २३ दिन कैद सजाय तोकिएका विभिन्न ५१ जना फरार अपराधी पक्राउ गरिएको र उनीहरुबाट एक लाख ४८ हजार ७५७ रुपियाँ जरिबाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ५१० वटा ठाडो उजुरी प्राप्त भएकोमा ४१४ वटा उजुरी फर्छ्यौट भएको र ९१ वटा बाँकी उजुरी प्रक्रियामा छन् ।

लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी ८३ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर, नाइट्राजेपाम ११३० ट्याब्लेट, ट्रामाडोल ६११ ट्याब्लेट लागूऔषधसहित ओसारप्रसारमा संलग्न २२ जनालाई कानुनी दायरामा ल्याइएको छ । त्यसैगरी विभिन्न समयमा हराएका ९ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ । अवैध सुन ४०७ ग्राम, चाँदी १० किलो ६१३ ग्राम बरामद गरिएको र त्यस कार्यमा संलग्न चार जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । 

महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान-कारबाहीतर्फ २० वटा मुद्दा दर्ता भएकोमा संलग्न दश जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार घरेलु हिंसासम्बन्धी ६४ वटा उजुरी दर्ता भएकोमा ५१ वटा उजुरीमाथि छानबिन गरी फर्छ्यौट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा ४२ वटा निवेदन दर्ता भएको र २६ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

समुदाय प्रहरी सहकार्य गतिविधितर्फ लागूऔषधसम्बन्धी तीन वटा सचेतना, साइबर अपराधसम्बन्धी पाँच वटा, चोरीसम्बन्धी तीन वटा, अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम एउटा, निःशुल्क खानेपानी वितरण लगायतका ३७ वटा सचेतनामूलक कार्यक्रम गरिएको छ । त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटसहित विभिन्न १३० वटा ट्राफिकसम्बन्धी सचेतनामूलक विभिन्न कार्यक्रम गरिएको छ ।

त्यसैगरी आन्तरिक सुदृढीकरण प्रयासअन्तर्गत इलाका प्रहरी कार्यालय भगवानपुरलाई भदौ महिनाको ‘बेष्ट पोलिस युनिट अफ द मन्थ’ उत्कृष्ट प्रहरी एकाइ घोषणा गरिएको र आचरण विपरीत कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई तीनपुस्तेमा जनिनेगरी कारवाही गरिएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले पछिल्लो समयमा हरेक महिना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।