• १ असोज २०८१, मङ्गलबार

‘सरकारले विधि प्रक्रियामै प्रतिवेदन कार्यान्वयन गर्छ’

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री प्रकाशमान सिंह । तस्बिर: अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज १ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी ठगी प्रकरणमा संसदीय समितिले बुझाएको प्रतिवेदनलाई विधि प्रक्रियाअनुसार सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । 

प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसदीय समितिले हिजोमात्र प्रतिवेदन बुझाएकाले अध्ययन गरेर सरकार कार्यान्वयनमा लग्ने बताउनुभयो । 

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका सिंहले संविधानको प्रभावकारी कार्यान्वयन र आर्थिक गतिविधिलाई चलायमान बनाउन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताउनुभयो । 

“सरकार घरी–घरी परिवर्तन हुँदा जनतामा नैराश्यता पैदा भएको छ । राजनीतिक अस्थिरता कायम थियो” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “मुलुकमा राजनीतिक स्थायित्वका लागि दुई ठुला पार्टी मिली सरकार बनाएर काम अगाडि बढाएका छौँ ।”

नेपाली कांग्रेसको नेतृत्वमा सबै दलहरूले मिलेर बनाएको संविधानलाई अझ प्रभावकारी र कार्यान्वयनका लागि सहज बनाउन सबैसँग छलफल गरेर संशोधनको काम अगाडि बढाइने सिंहको भनाइ छ । उहाँले भन्नुभयो, “संशोधन एकैचोटी हुँदैन । सबैसँग छलफल गरेर आवश्यकताअनुसार हुन्छ ।”

उपप्रधानमन्त्री सिंहले अधिकार कटौतीका लागि नभई कार्यान्वयनमा सहजताका लागि संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो । मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको उहाँको भनाइ छ । 

व्यवस्था परिवर्तनसँगै मुलुकमा विकास निर्माण, शिक्षाको गुणस्तरलगायतमा धेरै परिवर्तन आएको बताउनुभयो । “केही परिवर्तन भएन भन्ने कुरा गलत हो” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “मुलुकमा परिवर्तन नभएको होइन । परिवर्तन भएको छ । तर जति हुनु पर्ने हो, त्यति भएको छैन ।”