• १ असोज २०८१, मङ्गलबार

भारतकी शिल्पा गण्डकीबाट खेल्दै

blog

काठमाडौँ, असोज १ गते । भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताउनुभएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नु हुनेभएको छ । 

भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पाले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभीएल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने पक्का भएको हो । गण्डकीले उहाँलाई टिममा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टिमकी भरपर्दाे खेलाडी हुनुहुन्छ । 

शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योदान गर्नुभएको छ । नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा उहाँ महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । 

२२ वर्षीया मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेल्नुभएको छ । गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । इडब्ल्युभीएल असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।