• १ असोज २०८१, मङ्गलबार

स्वास्थ्य सेवा प्रवाहमा राप्ती गाउँपालिका उत्कृष्ट

blog

राप्ती गाउँपालिकालाई जिल्लामा उत्कृष्ट पालिका भएको प्रमाणपत्र प्रदान गर्दै अतिथि । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, असोज १ गते । स्वास्थ्य सेवा प्रवाहमा दाङको राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा जिल्लाका दश पालिकामध्ये राप्ती गाउँपालिकालगायत तेस्रो वर्ष पनि उत्कृष्ट घोषणा भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय दाङले घोराहीमा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरू गत वर्षको कार्यक्रममा अरू पालिकामध्ये सबैभन्दा राम्रो गरेको आधारमा पहिलो भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा पालिकाहरूमा सञ्चालित जनस्वास्थ्य सम्बन्धी कार्यक्रम एवम् मुख्य–मुख्य सूचकहरूको आधारमा मूल्याङ्कन गरिएको थियो । खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित विभिन्न २६ वटा सूचकलाई आधार बनाएर गरेको मूल्याङ्कनमा राप्ती गाउँपालिकाले ६८ दशमलव ३५ प्रतिशत नम्बर प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । 

त्यसैगरी जिल्लाको घोराही उपमहानगरपालिका ६७ दशमलव ३८ प्रतिशत नम्बर हासिल गर्दै दोस्रो र दंगीशरण गाउँपालिका ६६ दशमलव १९ प्रतिशत नम्बर प्राप्त गर्दै तेस्रो भएका छन् । अघिल्लो वर्ष आठौँ स्थानमा रहेको दंगीशरण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै तेस्रो स्थानमा पुग्न सफल भएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले जानकारी दिनुभयो । 

गढवा गाउँपालिका ६६ दशमलव १३ प्रतिशत नम्बर हासिल गर्दै यस वर्ष चौथो हुँदा तुलसीपुर उपमहानगरपालिका ६५ दशमलव ११ प्रतिशत नम्बर हासिल गरेर पाँचौँ स्थानमा रहन पुगेको छ । लमही नगरपालिका ६४ दशमलव ७२ प्रतिशत नम्बर प्राप्त गरेर छैटौँ हुँदा शान्तिनगर गाउँपालिका ६२ दशमलव ४९ प्रतिशत नम्बर हासिल गरेर सातौँ स्थानमा परेको छ ।

जिल्लाको राजपुर गाउँपालिका ६१ दशमलव ०४ प्रतिशत नम्बर प्राप्त गरेर आठौँ स्थानमा रहँदा बंगलाचुली गाउँपालिका ६० दशमलव ३३ प्रतिशत नम्बर हासिल गरेर नवौँ स्थानमा रहेको छ । जिल्लाका दश स्थानीय तहहरूमध्ये स्वास्थ्यको सूचकमा सबैभन्दा कमजोर बबई गाउँपालिका देखिएको छ । बबईले २६ वटै सूचकबाट ५५ दशमलव ९० प्रतिशत नम्बर प्राप्त गरेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख आचार्यले जानकारी दिनुभएको छ । 

आर्थिक वर्ष २०७९-०८० मा जिल्लामा राप्ती गाउँपालिका पहिलो, घोराही दोस्रो र शान्तिनगर गाउँपालिका तेस्रो स्थानमा थियो । 

त्यसैगरी चौथोमा गढवा गाउँपालिका, पाँचौँमा बंगलाचुली गाउँपालिका, छैटौँमा लमही नगरपालिका, सातौँमा तुलसीपुर उपमहानगरपालिका, आठौँमा दंगीशरण गाउँपालिका, नवौँमा बबई गाउँपालिका र दशौँ स्थानमा राजपुर गाउँपालिका रहेका थिए ।