• १ असोज २०८१, मङ्गलबार

सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गरौँ : अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ, असोज १ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिनुभएको छ ।

संविधान दिवसको सन्दर्भमा अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन गरी संविधान सबै समुदायले स्वामित्व लिनसक्ने खालको हुनुपर्ने बताउनुभएको हो ।

साथै उहाँले असोज ३ गते जनचेतनामूलक कार्यक्रमहरू गरिनुपर्ने धारणा राख्नुभएको छ । अध्यक्ष यादवले संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनुपर्ने भनाइ राख्नुभयो ।

संविधानमा सङ्घीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको उहाँको भनाइ छ ।

अध्यक्ष यादवले भन्नुभयो, ‘‘संविधानले मधेशी, आदिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदायका साथै उत्पीडित जात/जाति एवम् समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न सकेको छैन ।’’