• १ असोज २०८१, मङ्गलबार

इँटा उद्योगलाई वातावरणमैत्री बनाउनु पर्छ : मन्त्री भण्डारी

blog

नेपाल इँटा उद्योग महासङ्घको १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता

बनेपा, असोज १ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा सञ्चालित इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र जलवायुमैत्री बनाउनुपर्नेमा बताउनुभएको छ ।

सोमबार धुलिखेलमा आयोजित नेपाल इँटा उद्योग महासङ्घको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि इँटा उद्योगलाई प्रविधिमैत्री र जलवायुमैत्री रूपमा सञ्चालन गर्नेतर्फ व्यवसायी गम्भीर हुनुपर्ने औँल्याउनुभएको हो । 

मन्त्री भण्डारीले नेपालमा सबैभन्दा बढी खपत हुने उद्योगको रूपमा इँटा उद्योग रहेको बताउँदै नेपाल निर्माणको अभियानमा इँटा उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले इँटाको साइज, मूल्य र गुणस्तरको विषयमा समय/समयमा प्रश्न उठ्ने गरेकाले साइज, मूल्य र गुणस्तरमा एकरूपता कायम गर्न उद्योगी,व्यवसायीलाई सचेत गराउनुभयो ।

उद्योगीले इँटा उद्योगमा काम गर्ने श्रमिकको स्वास्थ्यलगायतको व्यवस्थापन गर्ने विषयमा प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । “महासङ्घको आग्रहमा मन्त्रालयले इँटा उद्योगको अध्ययन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ, उक्त कार्यदलले कुन सिजनमा इँटा उत्पादन गर्ने, यसको गुणस्तर मापन गर्ने काम गर्ने छ भने मन्त्रालयले उद्योगलाई वातावरणमैत्री, प्रविधिमैत्री बनाउने कुरामा मन्त्रालयको सहयोग गर्ने छ,” मन्त्री भण्डारीले भन्नुभयो । 

उहाँले कोभिड–१९ प्रभावले नेपालको उद्योगको क्षेत्रमा पीडादायी प्रभाव पारेको बताउँदै पछिल्लो समय आर्थिक सङ्कट आएपछि बैङ्कको ब्याजदरको प्रभावले पनि उद्योग सङ्कटमा परेको बताउनुभयो । उहाँले ‘मन्दीदेखि समृद्धिसम्म’ भन्ने मूल नाराका साथ मन्त्रालयले उद्योगी, व्यवसायीसँग बसेर मन्त्रालय सुधारको कार्ययोजना अघि बढाएको बताउँदै सरकारलाई उद्योगीले विरोधी देख्ने प्रवृतिलाई हटाई राज्य, सरकार, देश मेरो हो भन्ने भावनाको विकास गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले नेपालमा करिब ११ सय वटा इँटा उद्योग सञ्चालनमा रहेको बताउँदै आर्थिक मन्दीका कारण यी उद्योग मारमा परेको बताउनुभयो । अध्यक्ष चन्दले इँटा उद्योगले तीनै तहको सरकारलाई छ वटा कर तिर्नुपरेको भन्दै करमा एकद्वार प्रणाली कायम गरिनुपर्ने बताउनुभयो । उहाँले सरकारले इँटा उद्योगले लिएको साँवाब्याज (ऋण) को समयावधि बढाउनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।