• १ असोज २०८१, मङ्गलबार

घिउको भण्डारण र प्याकेजिङमा खराबी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज १ गते । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले पछिल्ला दिनमा नौनीको भण्डारण र घिउको प्याकेजिङ गर्दा गुणस्तरमा चरम लापर्बाही देखिएकाले नमुना सङ्कलन गरेर परीक्षण गर्न प्रयोगशाला पठाएको जनाएको छ । 

विभागको अनुगमन टोलीले नौनी र घिउ उत्पादन गर्ने केही उद्योगी वा व्यापारीले नौनीको भण्डारण र घिउको प्याकेजिङमा समस्या देखिएपछि नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको हो । विभागले न्यून गुणस्तर अखाद्य, ढुसी परेका घिउ र खिया लागेका भाँडा प्रयोग गरेको पाइएपछि गुणस्तरमा समस्या हुन सक्ने भन्दै नमुना सङ्कलन गरेर धमाधम लिएर परीक्षण थालेको हो । खाद्य विभागले भदौ २६ देखि काठमाडौँ उपत्यकाभित्र खाद्य वस्तुको निरीक्षण तथा अनुगमनका लागि दैनिक दुई वटा अनुगमन टोली खटाई तीव्र रूपमा बजार अनुगमन गरिरहेको जनाएको छ । 

विभागले भदौ २६ देखि ३१ गतेसम्म उपत्यका विभिन्न ठाउँमा रहेका ११ घिउ उत्पादन उद्योगले बिक्री गर्ने घिउको गुणस्तरमा शङ्का लागेपछि नमुना लिई परीक्षण पढाएको छ । विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले नमुना सङ्कलन गरी पठाएका घिउ र नौनीको परीक्षण रिपोर्ट हेरेर कारबाही अगाडि बढाउने पनि जानकारी दिनुभयो । नमुना लिएका घिउ र नौनीको प्रतिवेदन आएपछि गुणस्तरहीन वा खान नहुने पुष्टि भएमा खाद्य वस्तु बिक्री गर्ने उद्योगी व्यवसायीलाई खाद्य स्वच्छता गुणस्तर ऐन, २०८१ मा भएको व्यवस्थाबमोजिम कारबाही गरिने विभागका निर्देशक महर्जनले जानकारी दिनुभयो । विभागले दसैँतिहारलक्षित बजार अनुगमनलाई केन्द्रित गरिरहेको महर्जनको भनाइ छ ।