• १ असोज २०८१, मङ्गलबार

संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै नाराबाजी

blog

सुदूरपश्चिम प्रदेश सभा सोमबारको बैठकमा नाराबाजी । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, भदौ ३१ गते । संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरिएको छ । 

सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका हुन । नाराबाजी अघि माओवादीका उपनेता अक्कलबहादुर रावलले संविधानको कुन धारा अनुसार बजेट  ल्याउन खोजिएको भन्दै विरोध जनाउनुभएको थियो ।

विरोध भएपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सरकारले आज संशोधित बजेट ल्याउन कार्यतालिका रहेकाे छ ।

असार १ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन । बजेट पास नहुँदा दुई महिनादेखि सुदूरपश्चिम बजेट विहीन छ ।