• १ असोज २०८१, मङ्गलबार

बाढीले दुई सीमास्तम्भ बगायो, दर्जनौँ जोखिममा

blog

जोगाउनका लागि वरिपरि तटबन्ध गरिएको ६५०/२ नम्बरको सीमास्तम्भ । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, भदौ ३१ गते । निरन्तर आएको बर्सातपछिको बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगाएको छ । धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय सिमाना छुट्याउने सीमास्तम्भलाई बाढीले बगाएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर धनगढीका अनुसार धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीपारि रहेको ६५०/२ नम्बरको पिल्लरलाई शुक्रबार आएको बाढीले बगाएको छ । सो सीमास्तम्भ कटानको जोखिममा परेपछि बालुवाले भरिएको बोरा त्यसको वरिपरि राखिएको थियो । बाढीले त्यो सीमास्तम्भलाई बगाएर लगेको सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो । 

यस्तै भजनी नगरपालिका–७ मा रहेको ७२१/२ नम्बरको सीमास्तम्भलाई पनि बाढीले बगाएको छ । अघिल्लो बाढीले यो सीमास्तम्भलाई बगाएको जनाइएको छ । सोही वडामै रहेको ७२१/४ नम्बरको सीमास्तम्भमा बाढीले क्षति गरेको छ । बाढीका कारण सीमास्तम्भले कोल्टे फेरेको जनाउँदै सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले यसलाई सिधा गर्न बाँकी रहेको बताउनुभयो । 

यसै गरी धनगढी उपमहानगरपालिका–१९, लल्लीपुरमा मोहना नदीपारि रहेको ७३४/८ नम्बरको सीमास्तम्भलाई पनि बाढीले क्षति गरेको छ । “यो सीमास्तम्भलाई बाढीले बगायो वा त्यहीँनिर छ भन्ने कुराको यकिन भइसकेको छैन,” सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भन्नुभयो, “सम्भवतः पानीभित्र रहेको हामीले आशङ्का गरेका छौँ ।” नेपाल–भारत सिमाना मोहना नदीसँगै रहेको छ । कतै मोहना नदीपारि नेपाल त कतै मोहना नदीवारि भारतको भू–भाग परेको छ । दुई देशको सिमाना नदी सँगसँगै परेका कारण धेरै जसो सीमास्तम्भ नदी आसपासमै छन् । 

नदी आसपासमा रहेका दर्जनौँ सीमास्तम्भ जोखिममा रहेका जनाइएको छ । अझै पनि आठदेखि १० वटासम्म सीमास्तम्भ पानीभित्रै डुबेको अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताउनुभयो । यसै गरी बाढीका कारण डुबेका पाँच/सात वटा सीमास्तम्भ बाढी घटेपछि देखिएका छन् । बाढीमा डुबेका ती सीमास्तम्भ ठिक अवस्थामै रहेको उहाँले जानकारी दिनुभयो । 

कैलालीमा नेपाल–भारत सीमा छुट्याउने मुख्य र सहायक गरी २८२ वटा सीमास्तम्भ रहेका छन् । सीमास्तम्भ बिग्रेमा नेपालले बिजोर र भारतले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको छ ।

दुई बिओपी जोखिममा

सीमा क्षेत्रमा सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका दुई वटा बिओपी कार्यालय पनि मोहना नदीको कटानको जोखिममा परेका छन् । कैलारी गाउँपालिका–३, खोनपुर र भजनी नगरपालिकाको हलौनाघाटमा रहेको बिओपी कटानको जोखिममा परेको हो । बिओपी कार्यालयतर्फ नदीले कटान गरिरहेकाले कटान नियन्त्रण र बिओपी जोगाउनका लागि तटबन्ध बनाउन आवश्यक देखिएको पाण्डेयले बताउनुभयो । शनिबार मात्रै मोहना नदीले धनगढी उपमहानगरपालिका–११, लल्लीपुरमा रहेका सशस्त्र प्रहरीका बिओपी कार्यालयका दुई वटा भवन बगाएको थियो ।