• २१ पुस २०८१, आइतबार

कुस्मा बसपार्क निर्माण

blog

गणेश पौडेल

पर्वत, भदौ ३० गते । पर्वतको सदरमुकाम कुस्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुस्मा नगरपालिका–६ स्थित बान्द्रेबिँडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।

सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले सात करोड १५ लाख ३० हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको हो । पर्वतमा सडक सञ्चालन भएको ३३ वर्षपछि बसपार्क निर्माण भएको हो । निर्माण सम्पन्न भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा सडकभरि सवारीसाधन पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ । 

निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले बताउनुभयो । ओझाका अनुसार पर्वत सदरमुकाम कुस्मा बजारबाट काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टालगायतका सहरमा सवारी छुट्ने गरेका छन् । बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुस्मा हुँदै जाने गर्दछन् । मध्यपहाडी लोकमार्गमा दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर हुने साथै स्थानीय रुटमा चल्ने सवारीको चापले सडकमा ट्राफिक समस्या हुने गरेको छ । समयमै बसपार्क सञ्चालनमा आए सवारी व्यवस्थापनमा सहज हुने ओझाको भनाइ छ । 

जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन असुरक्षित ढङ्गले सडकमै पार्किङ गर्नु परेको उहाँले बताउनुभयो । आफूले बसपार्क सञ्चालनका लागि पटक पटक सम्बन्धित निकायमा अनुरोध गरे पनि सुनुवाइ हुन नसकेको ओझाले बताउनुभयो । बसपार्कमा टर्मिनल भवन, यात्रु कक्ष र पसलका लागि सटर निर्माण भएका छन् । बसपार्कमा साना सवारीलाई अलग्गै र ठुला सवारीलाई अलग्गै पार्किङ गर्न मिल्ने गरी पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरको समेत व्यवस्था गरिएको छ ।