• २९ भदौ २०८१, शनिबार

नेवा: संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

ललितपुर, भदौ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवा: संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनुभएको छ । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारण सभाका अवसरमा शनिबार ललितपुरको मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवा: संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौँ परिकार, मन्दिरहरूका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गर्नुभयो ।


“राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि जगेर्ना गर्न सकिँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरूले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । यस दायित्वमा ज्यापु समाजको योगदानलाई म धन्यवाद भन्न चाहन्छु ।”

प्रथम महिला राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्यापु समाजका सदस्य रहेर समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो ।