• २९ भदौ २०८१, शनिबार

कोहलपुरमा क्यान्सर अस्पताल निर्माण सुरु

blog

क्यान्सर अस्पताल भवन निर्माणको शिलान्यास गर्दै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, भदौ २९ गते । 
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ ।

मेडिकल कलेजले सो अस्पताल निर्माणका लागि शुक्रबार भवन शिलान्यास तथा भूमि पूजन सम्पन्न गरेर शनिबारबाट निर्माण सुरु गरेको हो ।

यसअघि शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मेडिकल कलेजका सञ्चालक कुमारप्रसाद अर्यालले एक अर्बभन्दा बढी लगानीमा क्यान्सर अस्पताल निर्माण सुरु गरिएको बताउनुहुँदै अब बाँके मै क्यान्सरको अति नै गुणस्तरीय उपचार हुने जनाउनुभयो ।

उहाँले सो अवसरमा पश्चिम नेपालकै सर्वोत्कृष्ट भवन निर्माणसँगै गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सञ्चालक अर्यालले थप्नुभयो, ‘‘शिक्षण अस्पताल कोहलपुरबाट हाल पनि क्यान्सरसम्बन्धी रोगको सेवा दिइरहेका छौँ, अब त्यसलाई छुट्टै भवनबाट एकीकृत रूपमा विशिष्ट सेवा दिने छौँ ।’’

निर्माण सुरु गरिएको भवनबाट अबको दुई वर्ष भित्रमै बिरामीलाई सेवा दिने गरी काम अघि बढाइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

निजी क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका बिरामीहरूलाई सुविधा सम्पन्न ‘क्यान्सर अस्पताल’को निर्माण सुरु गरिएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा आउँदो महिनादेखि मुटुरोसम्बन्धी विशिष्टकृत सेवा, क्याथ ल्याब सेवा सुरु हुने तयारी रहेको बताउनुभयो  ।