• २९ भदौ २०८१, शनिबार

हलेसी तुवाचुङ नगरपालिकाले गर्‍यो वार्षिक सार्वजनिक सुनुवाइ

blog

सार्वजनिक सुनुवाइ एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख विमला राई । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, भदौ २९ गते । 
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । 

नगरपालिकाले आर्थिक वर्ष ८०/८१ मा ७० करोड ५७ लाख २४ हजार ५८ रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा कुल बजेटको ८३.५४ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा एक करोड ५० लाख ९४ हजार नौ सय ३० रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

सुशासन र पारदर्शिताका लागि हलेसी तुवाचुङ नगरपालिकाले हरेक अर्ध वार्षिक र वार्षिकरुपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ । आगामी दिनमा अझ चार चार महिनाको अन्तरमा नगरपालिमा भइरहेको कामहरूको विषयमा सार्वजनिक सुनुवाइ गर्ने मेयर विमला राईले बताउनुभएको छ ।

नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ एवम् एसइईमा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कार प्रदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गर्नुभएको हो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् सरोकारवाला निकायहरूले नगरपालिकाको बजेट तथा सेवा प्रवाहमा प्रश्न गर्नुका साथै सुझाव दिएका थिए । प्रश्नसँगसगै सम्बन्धित शाखा एवम् जनप्रतिनिधिले त्यसको जवाफ दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख राईले हरेक निकाय पारदर्शी हुनु पर्ने भन्दै हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रम र बजेट हेर्दा, विभिन्न निकायको मूल्याङ्कनहरू हेर्दा हलेसी तुवाचुङ नगरपालिका सङ्घीयता कार्यान्वयनमा अगाडि देखिएको प्रमुख राईले बताउनुभएको छ ।

शैक्षिक सत २०८० को एसइई परीक्षामा नगरपालिका भरीका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीमध्ये सबै भन्दा धेरै अङ्क ३.४० जिपिए ल्याउने महेन्द्रदोय माविकी छात्र दया राईलाई नगरपालिकाले नगद २० हजारसहित सम्मानपत्रले सम्मान गरेको छ । यस्तै, धेरै विद्यार्थी सङ्ख्या उत्तीर्ण गराएर नगर प्रथम हुने बुलापन्थे मावि, दोस्रो हुने लक्ष्मी मावि र तेस्रो हुने महेन्द्रदोय माविलाई क्रमशः ५०, ४० र २५ हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।