• २९ भदौ २०८१, शनिबार

बाँसका सामान बनाउन भ्याइनभ्याई

blog

रामधुनी ३ बुद्धनगरका रामस्वरुप मरिक बासको सामान बनाउनुहुँदै । तस्बिर : बाबुराम कार्की

 बाबुराम कार्की
वराहक्षेत्र, भदौ २९ गते । 
चाडपर्व नजिकिएसँगै बाँसका सामान बनाउन भ्याइनभ्याई हुन थालेको छ । रामधुनी ३ बुद्धनगरका रामस्वरुप मरिकको परिवारलाई चाडपर्व नजिकिएसँगै बाँसका सामानहरू बनाएर तयारी गर्न व्यस्त हुन थालेका छन् । मरिक परिवारले बाँसबाट बन्ने सामानहरू बनाएर जीविका चलाउँदै आएका छन् ।

सानै उमेरदेखि नै बाँसबाट बन्ने सामान बनाएर बिक्री गर्दै आउनुभएको रामस्वरु र उहाँको परिवार बिहानदेखि बेलुकैसम्म बाँसका सामानहरू बनाउन व्यस्त रहनुहुन्छ । बाउबाजेले गरिआएको पुर्ख्यौली पेसा भएकाले पेसालाई निरन्तरता दिँदै आएको मरिकको भनाइ छ ।

‘‘अर्को पेसा रोज्न सकिएन आफूले जानेको सिप यही बासको सामान बनाउनु हो ।,’’ मरिकले भन्नुभयो । सिङ्गो मरिक परिवारमै बाँसको सामान बनाउने सीप छ । बुहारी चन्दा, पूजा मरीक पनि दैनिक घरको काम सकेर ढाकी, कुनीया लगायताका सामान बनाउनुहुन्छ ।

गिरिजा मरिकले बासबाट कुनीया, ढकी, भकारी, पङ्खा, कोठी, बिरुवा छोप्ने ढोकसा जस्ता सामानहरू बनाउँदै आएको बताउनुहुन्छ । ५६ वर्षीय गिरिजाका साथै उहाँका चार बुहारीहरूले पनि सामान बनाउन सहयोग गर्दै आउनुभएको छ । बुहारी र सासू भएर कुनीया, ढाकी, पङ्खालगायत बासका सामानहरू बनाउँदै आएको उहाँ  बताउनुहुन्छ ।

वर्षको छ महिना बाँसका सामग्रीबाट मरिक परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ । वर्षैभरि बाँसका सामान बनाउने भए पनि वैशाख, असोज, कात्तिक, माघ, फागुन र चैतमा बासको सामान बढी बिक्री हुने गरेको मरिक परिवारले बताउनुभयो । हातमा सीप भएपछि कामको खाँचो नभएको गिरिजा बताउनुहुन्छ ।

पहिला तीन रुपियाँ गोटा बाँस किनेर सामानहरू बनाउँदै आउनुभएका रामस्वरुपले अहिले दुई सय रुपियाँ प्रति गोटा बाँस खरिद गर्दै आएको सुनाउनुभयो ।

‘‘मेरो परिवारका लागि बाँस नै भगवान् हो । बाँसले गर्दा नै परिवारको लालन पालनदेखि शिक्षासम्म दिन पाएँ । बाँसको सामानबाट मासिक ३० देखि ३५ हजार रुपियाँसम्म कमाई गर्दै आएको छु ।’’ मरिक भन्नुहुन्छ, ‘‘यही पैसाले ६ छोरा छोरीको विवाह दान गरियो । सिजनको बेला सामानको माग बढी हुने भएकाले राती पनि काम गर्ने गरेका छौँ ।’’

रङ्गिन ढकी थारु समुदायहरूको विवाहमा राम्रै बिक्री हुने गरेको गिरिजाको भनाइ छ । उहाँहरूले बनाएको सिङ्गल बिट भएको एउटा ढकी चार सय र डबल बिट भएको सात सय रुपियाँसम्म  बिक्री हुने गरेको छ । पङ्खा एक सय रुपियाँमा बिक्री हुने गरेको छ भने भकारी तीन हजार देखि चार हजार र कुनीयाको एक १५० देखि तीन सयसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।