• २९ भदौ २०८१, शनिबार

मुगुमा धार्मिक मेला गुरादेब सुरु

blog

गुरादेवतासँग आफ्नो भविष्य भाग्यबारे धामीसँग हेराउनेको घुइँचो । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, भदौ २९ गते । मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि  जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।

जिल्लाको छायानाथ रारा नगरपालिका , सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा भदौ २७ गते नवमीका दिनबाट भदौ पूर्णिमासम्म गुरादेब , विजय गुराको परम्परागत धामी  धार्मिक मेलाहरू सुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार भदौ नवमीका दिनबाट औपचारिक रूपमा मेला सुरु हुन्छन् ।  

धार्मिक अगुवा तथा गुरादेबताका धामी जन बहादुर ऐडीका अनुसार जिल्लाका छायानाथ रारा नगरपालिका,सोरूँ गाउँपालिका र खत्याड गाउँ पालिकामा औपचारिक रूपमा मेलाहरू सुरु भएका छन् । गुरादेवता सहितका देवताका पूजाआजा सुरुवात गरिएको बताउनुभयो । यस क्षेत्रमा गुरा , सुमईजु, बिजयगुरा , कालागुरा , हटी नाथ, कङ्काल्या , केसीनाथ, कालनाथ,लाटो सुमईजु सहितका दर्जनौँ देउताको पूजाआजा हुने गर्छ उहाँले भन्नुभयो।

देवताका पुजारी(खावा)का अनुसार यहाँका समुदायको देवताले भक्तजनलाई सुख दुखमा साथ दिने जनविश्वास भएकाले  हरेक गाउँमा हिन्दु धर्म मान्यको घरमा कुल देवताको  पूजा गर्ने चलन छ । विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिँदै आउने चलनले यति वेला मुगुका धार्मिक स्थानमा मानिसहरूको भिड लाग्न सुरु गरेको छ । 

धार्मिक आस्थाअनुसार प्रत्येक  वर्ष पूर्णिमाको दिनमा  मन्दिर तथा थानमा पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापाताले सजाउने काम गरिन्छ । पूजाको दिनमा स्थानीयले रातभरि देवता खेली  मनाउने चलन रहेको सोरूँ गाउँपालिका ५ निवासी तथा बिजयगुरा  देवताका पुजारी दानबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार भदौ  पूर्णिमासम्म विभिन्न पूजाआजाहरू हुने गर्छन् । 

पीडित पक्षले न्यायका लागि   गुरादेवता सँग  भाकल माग  गरेमा गुरादेवताले  न्याय दिलाउने जनविश्वासले यहाँका  परम्परागत सहित विभिन्न धार्मिक सभ्यताको न्याय दिने  देवता मानिन्छ । यसलाई पर्यटकीय महत्वको बारेमा अझै विकास गर्न सकिएको छैन ।  यो समयमा  मेला हेर्नलाई जिल्लाका विभिन्न बस्ती बाट आन्तरिक पर्यटक मेला हेर्न दर्जनौँ भक्तजन आउने गरेका छन् स्थानीय अमर बजादुर कार्कीले भन्नुभयो।