• २९ भदौ २०८१, शनिबार

जलवायु परिवर्तनले हिमालयमा अकल्पनीय असर : परराष्ट्रमन्त्री राणा

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

पाटन (ललितपुर), भदौ  २८ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा अकल्पनीय असर गरिरहेको छ भन्दै यसको असर रोक्न समयमै सोच्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सातवटा संस्थाको संयुक्त आयोजनामा ललितपुरमा बिहीबार आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयका अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्तव्य राख्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम तीव्र रुपमा बढिरहेको बताउनुभयो । यसले हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैलीमा मात्र नभई पूरै पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारिरहेको उहाँले बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशमा अकल्पनीय रूपमा असर परिरहेको छ, यो ज्यादै चुनौतीको विषय बन्दै गएको छ, हामीले यसबारेमा समयमै सोच्नुपर्ने अवस्था छ । यस क्षेत्रमा बसोबास गर्ने समुदायमा जलवायु परिर्तनका कारणले पारेको प्रभाव अहिले उनीहरूको व्यक्तिगत जस्तो देखिए पनि त्यहाँ सामना गर्नुपरेको जलस्रोतको अभाव र यसबाट उक्त क्षेत्रको कृषि प्रणालीमा परिरहेको छ । जसको प्रभावले हिमालसँगसँगै मानवीय अस्तित्वकै सङ्कट उत्पन्न हुने अवस्था छ”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण निम्तिदै गएका सङ्कटका विषय अत्यन्तै गम्भीर भएर समयमै सोच्नुपर्ने आवश्यकता आवश्यकता औंल्याउँदै उहाँले हिमालय क्षेत्रमा देखिएको यस्तै असरकै कारण केही समय मात्रअघि पूर्वी नेपालको सोलुखुम्बू जिल्लाको थामेमा हिमनदी फुटेर असर परेको बताउनुभयो । 

“अघिल्लो वर्ष पश्चिमको मुस्ताङ जिल्लाको कागबेनीमा बाढीले जनधनको ठूलो क्षति भयो यो जलवायु परिवर्तनको असरले नै भएको हो,” उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ, यो असर हाम्रो देशमा मात्र अन्यत्रका पनि हिमालय क्षेत्रमा भइरहेकाले सबैले सामूहिक रुपमा काम गर्नुपर्छ ।”


हिमाली क्षेत्रमा हिमाल पग्लिएर काला पहाडहरू देखिने, हिमनदीहरू बढ्ने तथा हिमतालहरू फुट्ने, बमौसममा र हिमाली क्षेत्रमा भीषण वर्षा हुने र बाढी आउने आदि जस्ता असर जलवायु परिवर्तनका कारण देखिइरहेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनका कारण धेरै क्षेत्रमा असर देखिएको भए पनि हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रम सुरु गर्नुपर्ने बताउनुभयो ।

जलवायु परिर्तनका कारण उत्पन्न हुने र भइरहेको असर सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउनका लागि अन्तर्राष्ट्रिय रुपमा नै सबै देश एकताबद्ध भइ लागि पर्नुपर्ने मन्त्री डा राणाको भनाइ छ ।

हिमालयन क्षेत्रका समुदायलाई जलवायु परिवर्तनका असरबाट बच्ने खालका तालिम दिने, जलवायु परिवर्तनले कम असर गर्ने खालका आधुनिक कृषि प्रणालीको विकास गरी त्यहाँका किसानलाई आवश्यक अभ्यासहरू गराउने, उनीहरूलाई जलस्रोतको व्यवस्थापन तथा विपद् जोखिम पूर्वतयारीका अभ्यास गराउने र यसमार्फत दिगो समाधान खोज्ने काम तत्कालै थाल्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री डा राणाले यसका लागि नेपाल र नेपालजस्ता हिमालय क्षेत्रका देशलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग अवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहमा पर्वतारोहण र पर्यटनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्घको वरिष्ठ उपाध्यक्ष आङ छिरिङ शेर्पालाई सम्मान गर्नुभयो । रासस