• २९ भदौ २०८१, शनिबार

जुँगे महादेवको मन्दिर निर्माणको समय आधा मात्र काम

blog

सिराज खान 

नेपालगन्ज, भदौ २८ गते।  नेपालगन्जको धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरको स्तरोन्नति गर्ने कार्यको समय अवधि सकिए पनि निर्माण कार्य आधा पनि पूरा भएको छैन।

निर्माण  कार्यको गति अत्यन्त ढिला भएका कारण दर्शनार्थी निरास बन्न थालेका छन्।  जीर्ण अवस्थामा रहेको जुङ्गे महादेवको मन्दिर तथा मन्दिरमा जाने पुल निर्माण गर्न भन्दै २०७९ चैतमा मन्दिर भत्काएर पुनः निर्माण थालिएको हो।  

मन्दिर र पुल निर्माणका लागि वि‍.सं. २०७९ चैत २ गते एक करोड आठ लाख ७३ हजार ८९९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो।  ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन।  तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ गतेसम्म म्याद थपिएको छ। 

नेपालगन्ज उपमहानगरपालिकाका इञ्जिनियर भूपेन्द्र बोहराले पुलको ढलान र पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको र तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान, फ्लोरिङ, रङ्गरोगन र अन्य काम बाँकी रहेका बताउनुभयो। 

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरोन्नति गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुङ्गे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै कुनामा थन्क्याइएको छ।  

समयमा काम सम्पन्न नहुँदा भक्तजनलाई समस्या भइरहेको नेपालगन्जका अगुवा कृष्णप्रसाद श्रेष्ठले गुनासो गर्नुभयो। 

उता आगामी शिवरात्रीमा दर्शनार्थीले पूजा गर्न पाउने गरी काम भइरहेको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टको भनाइ छ।  जुङ्गे महादेव मन्दिर पुनःनिर्माणसँगै बागेश्वरी मन्दिर परिसर पनि थप आकर्षक बन्ने उहाँले बताउनुभयो। 

काममा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएको भन्दै समय सीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने अधिकांशको माग छ।