• २९ भदौ २०८१, शनिबार

दुग्ध क्षेत्र कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र : कृषिमन्त्री

blog

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध सहकारी सङ्घले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : मन्त्री अधिकारीको सचिवालय

काठमाडौँ, भदौ २८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थव्यवस्थाको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । 

राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध सहकारी सङ्घले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कृषि मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो ।

उहाँले निजी र सरकारी दुबैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिनुहुँदै डिडिसीलाई सरकारले दिएको ६० करोड ऋण किसानकै हातमा जानुपर्नेमा जोड दिनुभयो ।

मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीहरुको भूमिका महत्त्वपूर्ण छ भन्नुहुँदै मन्त्री अधिकारीले दुग्ध किसानले भोगेका समस्याहरुमा आफू जानकार रहेको र समस्या समधानमा मन्त्रालय लागिपरेको बताउनुभयो ।

मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई व्यावसायिक बनाउने कार्यको सुरुवात भइसकेको बताउनुहुँदै यी निकायमा किसानलाई सहभागिता गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

हाल ६४ जिल्लामा १८७५ वटा दुग्ध सहकारी संस्थाहरु रहेको र वार्षिक १० अर्ब रुपियाँको कारोबार हुने गरेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ । पशु बिमाको सुनिश्चित नहुँदा पेशालाई निरन्तरता दिन अप्ठ्यारो परेको, ७ महिनादेखि दुधको रकम भुक्तानीमा समस्या, दिगो बजारको अभाव, दुग्ध पदार्थ अघोषितरुपमा आयात भइरहेको, सहकारी संस्थाले उद्योग सञ्चालन गर्न कानुनी जटिलता जस्ता समस्या रहेको दुग्ध किसान तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

उनीहरुले दूध सङ्कलनमा सही तथ्याङ्क राख्न जरुरी रहेको सहज र सुलभ ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्नुपर्ने, दुग्ध पदार्थ आयातमा कर बढाउनुपर्ने, कृषिमा दिइने अनुदान किसानकै हातमा पुर्‍य ाउनुपर्ने लगायतका सुझाव दिएका छन् । दुग्ध विकास सस्थान र दुग्ध विकास बोर्डमा दुग्ध किसानको प्रतिनिधित्व हुन जरुरी रहेकोमा जोड दिएका छन् । उनीहरुले दुग्ध विकास संस्थानलाई जोगाउन जरुरी रहेको पनि बताए ।