• १० मंसिर २०८१, सोमबार

कर्णाली नदीमा खतराको सङ्केत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

blog

चिसापानीस्थित जलमापन केन्द्र । फाइल तस्बिर

अविनाश चौधरी
धनगढी, भदौ २८ गते ।
दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण उर्लेको कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।

चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ । सो केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १०.८० मिटर खतराको तह मानिन्छ ।

कर्णाली नदीले खतराको तह पार गरेपछि यसले प्रभाव पार्दै आएको बर्दिया र कैलालीको विभिन्न पालिकावासीसहित तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिइएको छ । बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिकामा कर्णालीको बाढीले प्रभाव पार्ने गर्दछ ।

यसैगरी, कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको विभिन्न क्षेत्रमा यो नदीका कारण डुबान हुने गरेको छ । डुबान हुँदै आएको क्षेत्रका समुदायमा उच्च सतर्कता अपनाउनका लागि सूचना दिइसकेको गुरुङले जानकारी दिनुभयो ।