• २५ पुस २०८१, बिहिबार

पोषणको स्थिति सुधार गर्न परियोजना सुरु

blog

काठमाडौँ, भदौ २७ गते । विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीहरुका पोषणको स्थिति सुधार गर्न पोषण परियोजना सुरु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेले पोषण परियोजनाको शुभारम्भ गर्नुभएको हो ।

यो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सात करोड २० लाख अमेरिकी डलर अनुदानमा कार्यान्वयन हुने पाँच वर्षे युएसआइडी एकीकृत पोषण परियोजनाको हो ।

उक्त परियोजनाले घरपरिवार तथा समुदायस्तरमा स्वास्थ्य, पोषण र स्वच्छता अध्यासहरू सुधार गर्न, स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर वृद्धि गर्न र पोसिलो तथा विविधतापूर्ण खानामा सीमान्तकृत समुदायको पहुँच बढाउन, शासकीय सुधार गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग काम गर्ने छ । 

नेपालमा वि.सं. २०६९ देखि बहुक्षेत्रीय पोषण योजना लागू भई कार्यान्वयन भइरहेको छ । नेपालका सात प्रदेशका ४८ जिल्लामा सबै ४९८ स्थानीय कार्यान्वयन हुने यो तेस्रो परियोजनाले बहुक्षेत्रीय पोषण योजनाका लक्ष्य प्राप्त गर्न नेपाल सरकारका तीनै तहसँग समन्वय गरी काम गर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्री पौडेलले पछिल्लो दशकमा मातृ तथा बाल पोषण सुधारमा प्रगति भए पनि दिगो विकास लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले युएसएआइडी र नेपाल सरकार बिचको नयाँ सहकार्यले नेपाललाई निरोगी पुस्ता बनाउने लक्ष्य प्राप्तिमा सघाउने जिकिर गर्नुभयो ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाली जनताको पोषण सुधारमा युएसआईडीको निरन्तर र उल्लेख्य प्रतिबद्धता रहेको जानकारी दिनुभयो ।