• १० मंसिर २०८१, सोमबार

क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यु

blog

अर्जुन काफ्ले

स्याङ्जा, भदौ २७ गते । स्याङ्जामा क्षयरोगबाट एक वर्षमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०-०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो । 

गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको बताउदै उहाँले बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेको बताउनुभयो । जिल्लामा सबै भन्दा धेरै क्षयरोगी वालिङ नगरपालिकामा ७९ जना क्षयरोगका बिरामी छन् । 

त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा पाचँ जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा पाचँ जना र आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगी छन् । 

स्याङ्जामा प्रतिलाख जनसङ्ख्यामा १३४ जना क्षयरोगी भेटिएका छन् । प्रतिलाख जनसङ्ख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भए पनि जिल्लामा अझै पनि परीक्षणको दरमा कमी छ । क्षयरोगका लक्षण देखिएपछि तथा लगातार खोकी लागिरहेमा स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ । 

क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा  वितरण भइरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने जस्ता लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।