• ८ जेठ २०८१, मङ्गलबार

राजनीतिक दलको अन्तिम शक्ति प्रदर्शन (फोटो फिचर)

blog

चुनावी प्रचारप्रसारको अन्तिम दिन मंगलबार मतदाताको घरघरमा पुगेका काठमाडौंका उम्मेदवार । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख २७ गते। एकै चरणमा वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार विभिन्न राजनीतिक दलहरूले आ-आफ्नो तर्फबाट र्‍याली र आमसभा गरेर शक्ति प्रदर्शन गरेका छन्। सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लाका स्थानीय तहका वडास्तरसम्म नै चुनावी चहलपहल तीव्र बन्यो। 

उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका स्थानीय तहहरूमा प्रमुख राजनीतिक दलदेखि अन्य दलले पनि सभा र जुलुस प्रदर्शन गरेका छन्। यस निर्वाचनका लागि प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो। राति १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुने भएकाले सबै खालका प्रचारप्रसार गर्ने कार्य बन्द हुने भएकाले पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न यो अन्तिम प्रयास गरेका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर गृह जिल्ला डडेलधुरामा दिनभर व्यस्त रहनुभयो भने प्रमुख प्रतिपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा र काठमाडौंका आमसभालाई सम्बोधन गर्नुभएको छ। 

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मधेस प्रदेसका विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनुभयो। यसैगरी, एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपाल उपत्यका सभामा व्यस्त रहनुभयो भने अन्य दलका नेता तथा कार्यकर्ता पनि खुलेर प्रचार अभियानमा सहभागी भए। 

काठमाडौं महानगरपालिकाका प्रमुख पदका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सिर्जना सिंह र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले अलग-अलग कार्यक्रम आयोजना गरेर आफू निर्वाचित भएका गर्ने कार्यको खाका प्रस्तुत गर्नुभयो। ललितपुर महानगरका प्रमुख पदका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जन र एमालेका प्रमुख पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको चुनावी प्रसार शैली आ-आफ्नै रह्यो।

यसैगरी, तारकेश्वर नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेश्वर बोहरा, कांग्रेसका हरिकृष्ण महर्जन, नेकपा (एकीकृत समाजवादी) का लवकुमार बस्नेत, जनता समाजवादी पार्टीका बाबुराम लामा, विवेकशील साझा पार्टीका महेशविक्रम कुँवर, नेपाल मजदुर किसान पार्टीका कुमार महर्जनसहित उम्मेदवारले र्‍याली र सभा गरेका छन्। यस नगरमा उपप्रमुख कांग्रेसका सिर्जना बुर्लाकोटी अर्याल, एमालेका भवानी डोटेल धिताल, नेकपा माओवादी केन्द्रका धनलाल महर्जन चुनावी मैदानमा हुनुहुन्छ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि ढलेको सिन्को उठाउन नसक्नेलाई निर्वाचित गर्न नहुने बताउनुभएको छ ।  काठमाडौँको तारकेश्वर नगरपालिकामा मंगलबार आयोजित चुनावी सभा सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

यसैबीच, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ। काठमाडौँ महानगरपालिका-४ ले यहाँ आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दाबी गर्नुभयो। 

यसैगरी, गोरखापत्रका मधेस प्रदेश संयोजक धीरेन्द्र साहका अनुसार, मधेस प्रदेश विभिन्न स्थानमा साँझ पख शीतल भएकाले जुलुस प्रदर्शन गरिएको छ। मधेस प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी दलले पनि जुलुस प्रदर्शन गर्दै सभा गरेका छन्। 

तस्बिरः मनोजरत्न शाही, केशब गुरुङ र धीरेन्द्र साह