• २ माघ २०८१, बुधबार

छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित

blog

सुनसरीको दुहवीमा छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित बनेको जानकारी दिँदै। तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, भदौ २४ गते।  सुनसरीको दुहवीमा छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित बनेका छन्। दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदूषणको दुर्गन्धले स्थानीयबासीलाई असर गरेको भन्दै आन्दोलित बनेका हुन्।  फोहोर, दुर्गन्ध र प्रदूषणले आजित भएको भन्दै सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेको भन्दै उद्योग बन्द गर्ने चेतावनीसहित दुहवीमा छाला उद्योग विरुद्ध स्थानीय आन्दोलित बनेको स्थानीय चन्दन रौनियारले जानकारी दिनुभयो।  

स्थानीयले गाउँघरमा छाला उद्योग चलाउन पाउँदैन, जनताको स्वास्थ्यमाथि देलवाड गर्न पाउँदैन भन्दै छाला उद्योग विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिँदै नाराबाजी गरेका छन्।  स्थानीयले नाराबाजीसहित उद्योग छेउमा पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले बेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द गर्नुपर्ने र नगराए तालाबन्दी गर्ने चेतावनी दिएका छन्।  

प्रदूषण फैलाउने उद्योग बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले विभिन्न निकायमा निवेदन उजुरी दिए पनि कुनै कारबाही नभएको आरोप लगाएका छन्।  उद्योग खुलेआम चलिरहेकोले स्थानीय आक्रोशित हुँदै उद्योगमा ताला लगाउनुको कुनै विकल्प नरहेको छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिका सुकेन शर्माले बताउनुभयो। 

उता दुहबी नगरपालिकाको न्यायिक समिति संयोजक मेनुका पोखरेल खतिवडाले फोहोर , दुर्गन्ध भएको गुनासोलाई सम्बोधन गर्ने प्रयास स्वरूप सम्बन्धित निकायमा आफूले कारबाही  सिफारिस गरेको बताउनुभयो।