• ११ मंसिर २०८१, मङ्गलबार

बन्द हुने उद्योगको सङ्ख्या बढ्दै

blog

तानसेनस्थित घरेलु तथा साना उद्योगको कार्यालय । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, भदौ २४ गते । पाल्पामा दर्ता हुने नयाँ उद्योगको तुलनामा बन्द हुने उद्योगहरूको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षयता बन्द हुने उद्योगहरूको सङ्ख्या निरन्तर बढेको हो । नयाँ उद्योग थप हुने क्रम घटेको छ । 

युवाशक्ति विदेश पलायन हुनु, भएका उद्योग नियमित सञ्चालन हुन नसक्नुजस्ता कारण जिल्लामा नयाँ दर्ता हुने उद्योगको सङ्ख्या घटेको हो । केही वर्ष अघिसम्म नयाँ दर्ता हुने उद्योगको सङ्ख्या बढेको थियो । तर पछिल्लो दुई वर्षयता बन्द हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ । 

आव २०७९÷०८० मा जिल्लाभर तीन हजार ८९७ उद्योग सञ्चालन रहेकोमा गत आव २०८०÷०८१ मा घटेर तीन हजार ८१७ वटा मात्र सञ्चालनमा छ । जिल्लाभर सञ्चालनमा रहेका कृषि, पर्यटन, उत्पादनमूलक र सेवामूलक उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगको सङ्ख्या घटेको हो । गत आव २०८०÷०८१ मा मात्र कृषि तथा वनजन्य ४४ वटा उद्योग दर्ता भएकोमा सोही प्रकृतिको ६२ वटा उद्योग बन्द भएको कार्यालयका प्रमुख श्यामकुमार पौडेलले जानकारी दिनुभयो । 

यस्तै ३० वटा पर्यटन उद्योग दर्ता भएकामा ५५ वटा बन्द भएको पौडेलले बताउनुभयो । उद्योगबाट उत्पादित वस्तु बिक्री नहुनु, युवाशक्ति विदेशमा जाने प्रचलन बढेका कारण यस्ता उद्योग बन्द हुने क्रम बढेको उहाँको भनाइ छ । गत आवमा १५ वटा सेवामूलक उद्योग दर्ता भए भने ४५ वटा बन्द भएका छन् । 

यस्तै गत आवमा आठ वटा उत्पादनमूलक उद्योग दर्ता हुँदा १५ वटा बन्द भए । पाँच लाखभन्दा कम लगानी भएका फर्म पालिकाभित्रै दर्ता हुने कारणले दर्ता हुने फर्मको सङ्ख्या घटेको हुन सक्ने कार्यालयले जनाएको छ । 

जिल्लामा साना लगानीका उद्योग मात्र होइन, वाणिज्य फर्मको सङ्ख्या पनि घट्दो छ । गत आव २०८०÷०८१ मा जम्मा ९१ वटा वाणिज्य फर्म दर्ता भए भने १८६ वटा बन्द भएको कार्यालयका सूचना अधिकारी मनोज घिमिरेले बताउनुभयो । गत आवमा वाणिज्यतर्फ ९१  वटा फर्म दर्ता हुँदा १८ करोड १२  लाख लगानी भएको छ र त्यसबाट २१ लाख ३६ हजार सात सय राजस्व सङ्कलन भएको छ । 

जिल्लामा ठुला उद्योगधन्दा खासै नभए पनि व्यक्तिले एकल चलाएका साना उद्योग बढी छन् । गत आव ९७ वटा नयाँ उद्योग दर्ता हुँदा ४०७ जनाले रोजगार पाएका छन् । यस्तै ती उद्योगमा २१ करोड ९८ लाख बराबरको पुँजी लगानी भएको र त्यसबाट १५ लाख ६४ हजार पाँच सय रुपियाँ राजस्व प्राप्त भएको घिमिरेले बताउनुभयो ।