• २३ भदौ २०८१, आइतबार

ट्याक्टरले ठक्कर दिँदा छात्राको मृत्यु, दुई घाइते

blog

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ २३ गते । महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा  एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय गौशालाकाअनुसार ट्याक्टरले किचेर गौशाला–३ ईंटाटारकी आठ वर्षीया जोयाकुमारी महतोको मृत्यु भएको हो । सँगै रहेकी ६ वर्षीया हंसिकाकुमारी महतो र १२ वर्षीय सुरजकुमार महतो घाइते छन् ।

घाइतेको हात र दाहिने खट्टामा चोट लागेको छ । घाइते बालबालिकाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर रानाकाअनुसार एउटै साइकलमा चढेर विद्यालयतर्फ जाने क्रममा उनीहरूलाई गौशाला नगरपालिकाको सुर्ती विकाश चोकबाट ईंटाटारतर्फ जाँदै गरेको ज २ त २० नम्बरको ट्याक्टरले धक्का दिएको थियो । 

सुरुमा सामान्य घाइते बालिका जोयालाई चालकले ट्याक्टर ब्याक गरेर मारेको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि घटनास्थल केही समय तनावग्रस्त बनेको थियो । दुर्घटना लगत्तै ट्याक्टर चालक प्रेमचन्द्र महतो केही बेर फरार रहेपनि प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।