• २३ भदौ २०८१, आइतबार

२० लाख बराबरको अवैध सामान बरामद

blog

पक्राउ परेका बिनोद कुश्वाहा । तस्बिर : सशस्त्र प्रहरी ।

गोरखापत्र अनलाइन 

पर्सा, भदौ २३ गते । पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ । 

सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा इलाकाबाट सात लाख ८० हजार ४ सय ३० रुपियाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको हो ।

यस्तै, भारतबाट अवैध रूपले ल्याइ सोही ठाउँको खुम्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको तीन लाख ६ हजार ६ सय ३० रुपियाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू समेत प्रहरीले बरामद गरेका छन् । 

यसबाहेक, सोही ठाउँको एक घरमा लुकाएको चार लाख ७३ हजार ८ सय रुपियाँको काजु, खजुर, बदाम, बिस्कुट, अजिर र किसमिसका सामान बरामद भएको छ । सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापा मारेको थियो ।

यसैगरी सोही महानगरपालिका-८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा पनि भण्डारण गरी राखिएको दुई लाख ७० हजार १ सय ७० रुपियाँको आलु र प्याज समेत बरामद भएको छ । प्रहरीले सोही महानगरपालिका-१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपियाँ बराबरको काजु, मरिच र ट्याम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ । घटनमा संलग्न बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२ बैरैनिया बस्ने २५ वर्षीया विनोद कुश्वाहा सो सामान ना २ ह ५९६ नम्बरको ट्याम्पोमा लोड गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघि पनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।