• २३ भदौ २०८१, आइतबार

थारु समुदायमा अटवारी पर्व मनाइँदै

blog

लीलाधर वली
घोराही, भदौ २३ गते ।
 थारु बाहुल्य जिल्लामा आज अटवारी पर्व धूमधामका साथ मनाइँदै छ । थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् ।

अटवारी पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ ।

व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्निदेवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु संस्कृतिविद् बेझलाल चौधरी बताउनुहुन्छ । उहाँका अनुसार प्रकृति पूजक थारु समुदायले खास गरेर यो पर्वमा सूर्यको पूजा गरेर मनाउँछन् । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (ऊर्जा)को प्रतीकको रूपमा मानिन्छ ।

दाजुभाइले दिदीबहिनीका लागि छुट्याएको भागलाई अग्रासन भनिन्छ । अट्वारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन् । अटवारी पर्व थारु समुदायले ठुलो पर्वका रूपमा मनाउने गरेको संस्कृतिविद् चौधरीको भनाइ छ ।

उहाँका अनुसार थारु समुदायको बसोबास रहेको दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।

अटवारी पर्वमा विशेष गरी माछा, गँगटा, घोँघीलगायत अन्य परिकार पकाउने गरिन्छ । आइतबार दिउँसोतिर गाउँका सबैजना मिलेर गैन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्ने चलन रहेको छ । उहाँले भन्नुभयो, ‘‘काठ घोटेर चोखो आगो उत्पादन गर्ने र त्यसैमा भीमलाई चढाउनलाई एकोहोरो रोटी पकाउने गरिन्छ । रोटी पाकेपछि सबै व्रतालुहरू स्नान गरी पूजामा सहभागी हुन्छन् ।’’ अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ ।

पाँच पाण्डवका चार भाइले खाना खानुभन्दा अगाडि आ–आफ्नो भागबाट आधा–आधा भाग भीमका लागि छुट्याउँथे, यसैगरी आज पनि थारुहरू अटवारीमा आफ्नो भागबाट आधा भाग भीमका लागि छुट्याएर मात्र खान्छन् । त्यसदिन व्रतालुहरू नुनलगायत जुठो मानिने अन्य खाने कुरा खाँदैनन् । यो पर्वमा खाना पकाउने जिम्मा व्रतालु पुरुषकै हुन्छ ।

अटवारीमा साँझ र बिहान व्रतालुहरूले आ–आफ्नो भागबाट आधा–आधा निकाल्ने गरिन्छ । यो अग्रासनको अग्राधिकार व्रतालुको दिदीबहिनीको हुन्छ । अग्रासन दिन गएको बेला दिदीभाइ, दाइबहिनीहरू अटवारीको खुसीयाली साटासाट गर्ने भएकाले पनि अटवारी पर्वलाई चेली र माइतीको मिलनबिन्दु समेत भन्ने गरिएको संस्कृतिविद् चौधरी बताउनुहुन्छ ।

अटवारी पर्वमा हराउँदै बर्कीमार गाथा

बर्कीमार अटवारी पर्वमा महाभारतको कथामा आधारित रहेर गाइने गीत हो । पाँच पाण्डवमध्ये भीमको वीरता र शक्ति महिमासँग जोडिएको बर्कीमार गीत पछिल्लो समय हराउन थालेको प्रति थारु समुदायको चिन्ता छ ।

बर्कीमार अटवारीको पर्यायका रूपमा रहेपनि पछिल्लो समय नयाँ पुस्ताले खासै चासो नदिँदा हराउन थालेको भन्दै चौधरी भन्नुहुन्छ, ‘‘थारु समुदायमा महाभारतको कथाको वृत्तान्तमा उल्लेख भएका धेरै जसो मिथक मिल्न जान्छ । पाँच पाण्डवको भक्ति साधना गरेर भीमको जस्तै शक्ति र बल प्राप्त होस् भनेर दिव्य साधना गर्ने परम्पराकालदेखि चल्दै आएको थियो तर पछिल्लो समय धेरै ठाउँमा बर्कीमार गाउने प्रचलन हराइसकेको छ ।’’

पहिले अटवारी पर्व सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्ने गरिएपनि पछिल्लो समय नयाँ पुस्ताले बिर्सिँदै जाँदा खानपान र मनोरञ्जनको रूपमा लिन थालिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले घरमा पूजा गरेपछि चेलीबेटीका घरमा अग्रासन कोसेलीका रूपमा बाँड्ने गरिन्थ्यो । तर अहिले मौलिक पक्ष हराउन थालेको छ ।’’ नयाँ पुस्ताले आफ्नो संस्कृतिको अपनत्व महसुस नगर्दा धर्म, संस्कार र संस्कृति ओझेलमा पर्ने गरेको बताउनुहुन्छ ।