• २३ भदौ २०८१, आइतबार

जनउत्तरदायी सेवा प्रवाहको आग्रह

blog

मुख्यमन्त्री चेतनारायण आचार्य निजामती सेवा दिवसको कार्यक्रम सम्बोधन गर्दै । तस्बिर : गणेश खनाल

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, भदौ २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीलाई आह्वान गर्नुभएको छ । निजामती सेवा दिवस २०८१ का अवसरमा जिल्ला प्रशासन कार्यालयद्वारा शनिबार अर्घाखाँचीमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सेवा प्रवाहलाई चुस्त, छिटोछरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नुभएको हो । 

कर्मचारीप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायीपूर्ण हुनुपर्ने मुख्यमन्त्री आचार्यको धारणा छ । उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ । कर्मचारीले दिने सेवामा यी विषय महत्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ । कर्मचारीप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिकमैत्री, सुशासन र जवाफदेहीयुक्त बनाउन जरुरी छ ।” मुख्यमन्त्री आचार्यले हुने कामलाई अलमल्याउने काम गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “छिटोछरितो सेवाको आवश्यकता छ तर हामी हुने कामलाई पनि कानुनको सिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठो आफैँ पार्ने गर्छाैं । म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामीले कानुनको गाँठो पारेर, त्यो सिरानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुनमा गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्नतिर लाग्न जरुरी छ ।”

मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “मैले धेरै ठाउँमा देख्ने गर्छु, निकास खोज्नभन्दा बल्झाउनेतिर जाने हाम्रो परिपाटीको विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ । प्रदेश सरकार निजामती कर्मचारीको हौसला र उत्साह बढाउन तयार छ । त्यही अनुसार निजामती सेवा ऐनमा वृत्तिविकासका अवसर समावेश छन् ।” यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोगमार्फत झन्डै दुई हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभएको थियो । निजामती कर्मचारी दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।