• २२ भदौ २०८१, शनिबार

पर्यटक लोभ्याउँदै दुर्लभ डल्फिन (फोटो फिचर)

blog

कैलालीमा देखिएका डल्फिनको मनमोहक दृश्य । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, भदौ २२ गते ।
 विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनलाई कैलालीमा निकै नजिकबाट सजिलै अवलोकन गर्न सकिन्छ । वर्षा यामभरि मोहना र यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रामा डल्फिन आउने डल्फिन यहाँ अरू ठाउँको तुलनामा सजिलै देखा पर्ने गर्दछन् ।

विभिन्न नदी र खोलाको दोभानमा नजिकबाट यिनीहरूलाई अवलोकन गर्न सकिन्छ । यी डल्फिनले कैलालीमा पर्यटकलाई आकर्षित गरिरहेका छन् । डल्फिन अवलोकनका लागि हरेक वर्ष आन्तरिकदेखि विदेशी पर्यटक आउने गरेको डल्फिन संरक्षणकर्मी एवम् डल्फिन, जलजर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । 

उहाँले विगत वर्षदेखि विद्यार्थी, सर्वसाधारण, व्यापारी, सामाजिक क्षेत्रका व्यक्ति, सरकारी कर्मचारी, विदेशी पर्यटक लगायतलाई टीकापुर नगरपालिका–७ बैदी र भजनी नगरपालिका–८ को काढाढिक क्षेत्रमा डल्फिन अवलोकन गराउँदै आउनुभएको छ । कैलालीमा देखिने डल्फिनको मान्छेसँग सामिप्यतापनि बढ्दै गएको देखिन्छ । स्थानीय थारु जातिका मछुवा र डल्फिनले एकै ठाउँमा माछाको सिकार गरिरहेको दृश्यले मनै लोभ्याउने गर्दछ ।


डल्फिनलाई स्थानीय भाषामा सोँस वा स्वांसु पनि भन्ने गरिन्छ । मान्छे जस्तै बच्चा जन्माउने डल्फिनले बच्चालाई दूध चुसाउने गर्दछन् । डल्फिनको आयु २० देखि २५ वर्षसम्म हुने गरेको छ । यिनीहरू एक सयदेखि १६० केजीसम्मको रहने गर्दछन् । चुच्चोको आकारबाट भालेपोथी थाहा हुने गर्दछ । अर्धअन्धो यो जलप्राणीले तरङ्गको सहायताले आफ्नो आसपासको जोखिम र आहारा थाहा पाउने गरेका बताइन्छ । यहाँ रहेका डल्फिनलाई संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेजी) बाजेको नेतृत्वमा जोगाउने कार्य सुरु भएको थियो । हाल समुदायका सबै मानिस डल्फिन संरक्षणमा जुटेका छन् । कैलालीका नदीमा डल्फिनमात्रै हैनन्, घडियाल र मगर गोही पनि प्रशस्त मात्रामा देख्न सकिन्छ ।