केशबराज सापकोटा
रानी, असार ३० गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबिच सोमबार भेटवार्ता भएको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भेटघाटमा मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापन काममा सहयोग गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि, जलवायु र विपदजस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिनुभयो ।
कोशी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्त चिन्तित रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधतायुक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको बताउनुभयो ।
‘प्रदेश सरकार यी विषयहरुमा कसरी अघि बढ्ने भन्ने गहन छलफल गर्नुपर्ने अवस्थामा छौं, मुख्यमन्त्री कार्कीले भन्नुभयो, “यी र यस्ता प्रभाव बारेमा सबै सरोकारवालासँग छलफल गर्न चाहन्छौं ।’
आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।
उहाँले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अघि बढ्ने उहाँले बताउनुभयो ।